Listen LIVE

विश्व वातावरण दिवसमा नेपालगञ्जमा सामुदायिक सरसफाई

नेपालगञ्ज : विश्व वातावरण दिवस ५ जुन २०२५ को अवरमा नेपालगञ्जमा वृहद् सामुदायिक सरसफाई अभियान गरिएको छ । 

द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजनाअन्तर्गत बास नेपालको आयोजना, स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ को मनिहारन टोलमा सरसफाई अभियान सम्पन्न भएको हो । 

गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् । 

सरसफाई अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगञ्ज उप—महानगरपालिकाका सरसफाई कर्मीहरु, स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का जनप्रतिनिधिहरु, स्थानीय नागरिकहरुको सामुहिक सहभागिता रहेको थियो । अभियानमा जुटेका सम्पूर्ण महानुभावहरुलाई बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गरेका थिए भने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले सरसफाई अभियानको शुभारम्भ गरेका थिए । 

४५ जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु २.३ किलोग्राम, प्लाष्टिकका झोला तथा पोलेथिनहरु ६३.४४ किलोग्राम, सिसा तथा काँचका टुक्रा र बोतलहरु २८.३ किलोग्राम, कागज जन्य पदार्थ १३.८५ किलोग्राम, मिसावट भएको फोहोर १४९.७३ किलोग्राम गरी जम्मा २५७.३५ किलोग्राम फोहोर संकलन गरिएको छ । 

संकलन गरी वर्गिकरण गरिएको फोहोरमध्ये प्रसोधन गरी पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित साथ राखेको छ भने प्रशोधन गर्न नसकिने फोहोरलाई नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा लगेको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए । 

फोहोर व्यवस्थापन तथा सरसफाईको मुख्य उद्देश्य बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले जानकारी गराएका थिए भने फोहोरको प्राविधिक वर्गिकरणको विषयमा स्वच्छ सफा नेपालका संचार अधिकृत सुशान श्रेष्ठले जानकारी गराएका थिए ।

प्रतिक्रिया