बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ । दुई साता यता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित थिए ।
निकुञ्जका प्रमुख अशोकरामले सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा लिई निकुञ्जको मुख्यालय ठाकुरद्वारामा राखिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले नियन्त्रणमा लिएको बाघ भाले भएको बताए । हात्ती परिचालनदेखि क्यामेरा ट्र्यापिङ गरिएको उनले जनाए । आहाराको अभावमा बाघ बाहिर निस्केर वस्तु भाउ खाने र मानिसमाथि आक्रमण गर्ने गरेकोले समस्याग्रस्त भनिने गरेको छ । केही दिन खोरमा राखेर उक्त बाघलाई निकुञ्जको कोरिडोरमा छाडिने बर्दिया निकुञ्ज स्रोतले बतायो ।
निकुञ्जको ठाकुरद्वारा र रम्मापुरमा चारवटा बाघ खोरमा राखिएको छ । खोरको अभावमा समातिएका बाघ पुनः निकुञ्जको खोरमा छाडिने गरेको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार