बर्दिया : यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु. ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।
दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोशाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए ।
गाउँपालिका र निमार्ण कम्पनीबिच भएको सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए ।
जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबिच विसं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रूपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।
सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार