Listen LIVE

हात्तीको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

नेपालगञ्ज : जङ्गलमा घाँस काट्न गएकी बाँके बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बाँके बैजनाथ १ चिसापानीका तीन जना महिलाहरु शुक्रबार बिहान करिब नौ बजेतिर घाँस काट्ने र च्याउ टिप्ने उद्देश्यले नजिकैको बर्दिया निकुञ्जको जङलमा गएको बेला हात्तीको समूहले आक्रमण गर्दा बुढाको मृत्यु भएको हो ।

अन्य दुई जनाले भागेर ज्यान जोगाउन सफल भए पनि बुढा भाग्न नसक्दा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन् ।

उनले मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको बताइन् ।

मृतक बुढाका श्रीमान् नेपाली सेनामा दिपायलमा कार्यरत रहेको र छोरा रोजगारीका सिलसिलामा दुबईमा रहेको मृतकका आफन्त लोकबहादुर रोकायाले बताए । उनले घरमा एकजना छोरी मात्र रहेको बताए ।

बाँकेको बैजनाथ–१ चिसापानीसँगै जोडिएको बर्दिया निकुञ्जको क्षेत्रमा स्थानीयहरु घाँस दाउरा गर्न जाने गरेकोले यसअघि पनि उनीहरुमाथि जङ्गली जनावरको आक्रमण हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया