Listen LIVE

भगवान रामसिताको स्वयम्बर सम्पन्न

जनकपुरधाम : त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी सिता माताविच जनकपुरधाममा विवाह भएको सम्झनामा यस वर्ष विशेष उल्लासका साथ जनकपुरधाममा शुक्रबार विवाहपञ्चमी महोत्सव मनाइएको छ । 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार दिउँसो जनकपुरधामको रंगभूमि मैदान बाह्र विघामा भगवान रामसिताको स्वयंवर कार्यक्रम भएको छ । स्वयंवरका लागि जनकपुरधामको जानकी मन्दिरबाट निस्केको जगतजनन्ी माता जानकीको डोला र राम मन्दिरबाट निस्केको भगवान रामको डोला रंगभूमि मैदान बाह्रबिघा पुगेको थियो । 

माता जानकीको डोलाले भगवान रामको डोेलालाई तीन पटक परिक्रमा गरेपछि दुवै डोलामा रहेको भगवान रामसिताकोे मुर्तिविच माला फेर गरिएको थियो । माला फेरका समयमा आकाशमा उडदै गरेको हेलिकेप्टरवाट पुष्पबर्षा गरिएको थियो ।

उक्त विधिमा दुवै मन्दिरका पुजाहरीहरुले माला फेरको कार्यक्रममा सघाउनुभयो । त्रेतायुगमा भगवान रामसिताको स्वम्वर हेर्नका लागि तीनवटै लोकका देवी देवताको सहभागिता रहेको जनविश्वासका कारण स्वयम्बर कार्यक्रम हेर्न लाखौको संख्यामा साधुसन्त, श्रद्धालु भक्तजन र सर्वसाधारणको उपस्थिति रहेको थियो । 

भारतको अयोध्यावाट राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायको नेतृत्वमा जन्तीको रुपमा भारतको २७ वटा प्रान्तवाट सहभागी भएका साधुसन्तको सहभागिताले स्वम्वर कार्यक्रम हेर्ने भिड नै लागेको थियो । स्वयम्वर कार्यक्रम हुने क्रममा मैथलानी महिलाले नाचगान गर्दै विभिन्न प्रकारका मंगल गितहरु गाएका थिए । 

स्वयंवर पश्चात दुवै डोलासहित सहभागी साधुसन्त र श्रद्धालुभक्तजन नगरको परिक्रमा गरेका थिए । दिउँसो स्वयम्वर कार्यक्रम सकिएपछि साँझ ७ बजेपछि जानकी मन्दिरको प्राङ्गणमा निर्माण गरिएको वेदीमा भगवान राम र सिताको वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए । बैवाहिक कार्यक्रम हिन्दु वैदिक परम्पराअनुसार हुने र उक्त कार्यक्रममा भारतको अयोध्याबाट आएका जन्तीहरुको सहभागिता रहने जानकी मन्दिरले जनाएको छ । 

राति वैवाहिक कार्यक्रम सम्पन्न भएपश्चात शनिबार रामकलेवा अर्थात जन्तीको विदाइ गरेपछि सात दिवशीय विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गरी नेपाल रेल्वेले आफनो सेवालाई थप गरेको छ । 

दैनिक तीन पटक सञ्चालन हुने रेलको समयसिमा भने अहिले निर्धारण गरिएको छैन । यता विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरसहित जनकपुरधामको विभिन्न मठ मन्दिरमा पूजा अर्चना गर्न आएका श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको थियो ।

प्रतिक्रिया