Listen LIVE

मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने

बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताए । 

उनले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताए । 

सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उद्देश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । 

उनले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय सरकारलाई स्थानीयस्तरमा मानव बेचबिखन विरुद्ध विभिन्न योजना बनाउन र कार्यान्वयन गर्न सक्षम बनाउने बिश्वास लिएको पनि सो अवसरमा बताइन् । 

गाउँपालिकाले समितिलाई आफ्नो उद्देश्य पुरा गर्न हरेक प्रकारको सहयोग दिने प्रतिवद्धता पनि उपमेयर चौधरीले व्यक्त गरिन् । 

उक्त बैठकमा मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुको सक्रिय उपस्थिति र सहभागिता रहेको थियो भने बैठकको सञ्चालन समितिका सदस्य इन्द्रा चुनाराले गरेका थिए ।

बैठकलाई सुरक्षा परियोजनाका संयोजक ईश्वर बिकले सहजीकरण गर्नुका साथै संस्था र परियोजनाको उद्देश्य तथा कार्यक्रम बारे जानकारी गराएकी थिइन् भने अनुगमन तथा मुल्यांकन अधिकृत जनकराम चौधरी र फिल्ड सुपरभाइजर सावित्रा भाटले सो कार्यमा उनलाई सहयोग गरेका थिए । 

परियोजना संयोजक बिकका अनुसार बैठकले मधुवन नगरपालिकाका सबै वडाहरूमा वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गर्ने निर्णय गर्दै पालिकास्तरीय समितिले हालसम्म गरेको प्रगति र उपलब्धीको समीक्षा समेत गरेको थियो भने बालबालिका बेचबिखन नियन्त्रण समितिका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने योजना समेत निर्माण गरेको थियो ।

प्रतिक्रिया