नेपालगञ्ज : कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र रिजालमाथि गम्भीर आरोप लगाएका छन् । मेयर आचार्यले सिडिओ रिजालले एसईई परीक्षा केन्द्र निर्धारणमा संस्थागत विद्यालयसँग सौदाबाजी गरेको आरोप लगाएका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर आचार्यले सिडिओ रिजालले ‘नैतिक रूपमा भ्रष्ट’ भएको र ‘समाजलाई चौपट पार्न खोजेको’ आरोप लगाएका हुन् । बिहीबार मात्रै सिडिओ रिजालको सरुवा भएको छ ।
मेयर आचार्यले सिडिओ रिजालले केही संस्थागत विद्यालयसँग ‘राम्रै सौदाबाजी’ गरेर परीक्षा केन्द्र निर्धारण गरेको आरोप लगाएका छन् । ‘राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिकरूपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको उदाहरण पनि दिन सफल हुनुभएकोमा बधाई छ,’ मेयर आचार्यले फेसबुकमा लेखेका छन् ।
सिडिओ रिजालले अधिकारको दुरुपयोग गरी विभिन्न विद्यालयका परीक्षा केन्द्रहरू हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरेको मेयर आचार्यको आरोप छ । ‘तपाईं खै कस्तो प्रलोभनमा पर्नुभयो विस्तारै खुल्दै जाला, तर सिंगो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरी गरिने यस्ता धूर्त निर्णयको हामी सामना गर्नेछौं,’ उनले लेखेका छन् ।
यस विषयमा सिडिओ रिजालको प्रतिक्रिया भने आउन बाँकी छ ।
सरुवापछि मात्रै आरोप किन?
सिडिओ रिजालको सरुवा नहुँदासम्म चुप लागेर बसेको र सरुवा भएपछि मात्रै आरोप लगाएको भन्दै मेयर आचार्यको नियतमाथि पनि प्रश्न उठेको छ । कतिपयले यसलाई व्यक्तिगत रिसइबीको रुपमा पनि हेरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार