Listen LIVE

भेरी अस्पतालको आगलागी घटना अनुसन्धान गर्न प्रहरीलाई सिफारिस

नेपालगञ्ज : भेरी अस्पतालकोे मेडिकल स्टोरमा गत वैशाखमा भएको आगलागीको घटनाबारे विस्तृतरुपमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई सिफारिस गरिएको छ ।

भेरी अस्पताल विकास समितिले गठन गरेको आगलागी प्रारम्भिक छानबिन उपसमितिले अस्पताल विकास समितिलाई छानबिन प्रतिवेदन हस्तान्तरण गर्दै जिल्ला प्रहरी कार्यालयलाई विस्तृत अनुसन्धानका लागि सिफारिस गरेको उपसमिति संयोेजक डा.डक्टप्रसाद धितालले बताए ।

अस्पताल विकास समितिका सदस्य समेत रहेका छानबिन उपसमितिका संयोजक डा. धितालका अनुसार गत वैशाख १३ गते भेरी अस्पतालको मेडिकल स्टोेरमा आगलागी भएको थियो । सो आगलागीबाट ३३ लाख रुपैयाँको पूर्ण क्षति र ७४ लाखको आंशिक गरी एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

छानबिन समितिको प्रतिवेदनमा घटनाको संवेदनशीलता, कानुनी र फरेन्सिक प्रकृतिको भएकाले विस्तृत अनुसन्धान आवश्यक रहेको ठहर गर्दै विस्तृत अनुसन्धानको जिम्मेवारी जिल्ला प्रहरी कार्यालय बाँकेलाई गर्न सिफारिस गरिएको जनाइएको छ ।

उपसमितिले घटनास्थलको स्थलगत अवलोकन, अस्पताल प्रशासन र फार्मेसीका कर्मचारीसँग छलफल, कागजात अध्ययन, औषधी व्यवस्था विभाग र विद्युत प्राधिकरणका विज्ञको राय लिएको संयोजक डा. धितालले बताए ।

बिदाका दिन भेरी अस्पतालको मेडिकल स्टोेरमा आगलागी भएकाले धेरैले सो आगलागीलाई रहस्यपूर्ण भन्दै छानबिनको माग गरेका थिए । सोही मागलाई ध्यानमा राखेर छानबिन उपसमिति नै गठन गरेर सो घटनाको छानबिन गराइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।

अस्पताल विकास समितिका सदस्य डा. धितालको संयोजकत्वमा गठन गरिएको आगलागी छानबिन उपसमितिका सदस्यहरुमा अस्पताल विकास समितिका सदस्य समीर गुरुङ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकर तथा कोष तथा लेखा नियन्त्रकको कार्यालय र सरकारी वकिलको कार्यालयका प्रतिनिधिहरु रहेका थिए ।

प्रतिक्रिया