Listen LIVE

रोगबाट बचाउन बाँकेका पशुचौपायालाई निःशुल्क खोप

नेपालगञ्ज : गर्मी बढेको समयमा पशुचौपायामा विभिन्न महामारी देखिने भएकोले पशुचौपायालाई महामारीबाट जोगाउन बाँकेमा महामारी विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।

६ महिना माथिका पशुचौपायालाई महामारीको जोखिमबाट जोगाउन जिल्लाका विभिन्न पालिकामा महामारी विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको पालिकाहरुले जनाएका छन् । 

सो क्रममा जिल्लाको जानकी गाउँपालिकामा पशु सेवा शाखाले १ देखि ६ नम्बर वडाहरु सबैमा २–२ जना गरी जम्मा १२ जना भ्याक्सिनेटरको टोली परिचालन गरेर ६ महिनामाथिका पशुचौपायालाई निःशुल्क खोप लगाउने कार्य गरिरहेको पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख दिल बहादुर खड्काले बताए । उनले पशुचौपायामा रोग नफैलियोस् भनेर पहिले नै महामारी विरुद्धको अभियान सञ्चालन गरेको जनाउँदै पालिकाका ६ वटै वडामा खोप लगाउने कार्य चलिरहेको बताए । 

गाई भैँसीमा महामारीकै रुपमा देखिने भ्यागुते र चरचरे रोग नलागोस् भनेर खोप लगाउन सुरु गरिएको जनाउँदै जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले गाउँपालिकामा रहेका १७ हजार गाई भैँसीहरुलाई निःशुल्क खोप लगाउने बताए । उनका अनुसार गाउँपालिकाले गाई भैँसीमा लाग्ने महामारी रोग विरुद्ध खोप अभियान सञ्चालन गरेपछि किसानहरु खुशी भएका छन् । जानकी–३ का किसान शिव प्रसाद शर्माले गाउँपालिकाले गाई भैँसीहरुको लागि घरघरमै पुगी निःशुल्क खोप अभियान सञ्चालन गरेको हुँदा खुशी लागेको बताए । 

उनले यसबाट आफ्ना पशुचौपाया रोगबाट सुरक्षित हुने भएकोले सबै किसानले उत्साहित भएर खोप लगाइरहेको बताए । 

जानकी–५ का अर्का किसान नरेश यादवले पशुचौपायालाई महामारीबाट जोगाउन समयमै निःशुल्क खोप लगाएर पालिकाले सराहनीय काम गरेको बताए । सो खोप अभियान एक हप्तासम्म सञ्चालन हुने जनाउँदै जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले पालिका भित्रका सबै किसानलाई आफ्ना ६ महिना माथिका पशुचौपायालाई खोप लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया