नेपालगञ्ज : जिल्लाका पालिकाहरूले पुराना छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न माग गरेका छन् ।
द्वन्द्वकालमा विस्थापित छोटी भन्सार अझै पुनःस्थापना भएको छैन । यसबाट सरकारले बर्षेनी राजश्वमा ठूलो रकम गुमाउनुपरेको छ ।
नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात वटा छोटी भन्सार कार्यालय अहिले बन्द छन् ।
आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् ।
सीमावर्ती भारतीय बजार बघौडासँग जोडिएको कटकुइँयाको सुइया, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहासँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निबियासँग जोडिएको हिरमिनियाको भंघोटन र रञ्जितवासँग जोडिएको साइगाउँ तथा उढरापुर गरी सात वटा छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दुरीका हिसाबले ५५ किलोमिटर टाढा सुइया, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भंघोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दुरीमा पर्दछन् ।
छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी–पैठारी नियन्त्रणको काम गर्दै आएको छ ।
उनले भारतमा पनि ‘काउण्टर पार्ट’स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिँदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने बताए । यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको बताइएको छ ।
नरैनापुर क्षेत्रमा रहेका छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि धेरै पटक अनुरोध गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिए । गाउँपालिकामा निर्वाचित भएदेखि नै छोटी भन्सार सञ्चालन गर्न अनुरोध गरिए पनि सरकारले वास्ता नगरेको अध्यक्ष शाहको भनाई थियो ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले रञ्जितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर छोटी भन्सार कार्यालय स्थापना गर्न माग गर्दै आएको बताए । उनले भन्सार नहुँदा स्थानीय व्यापारीहरूलाई व्यवसाय गर्न अप्ठ्यारो हुँदै आएको जिकिर गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार