Listen LIVE

नेपालगञ्जको दशहरा मेलामा आज रावण बध गरिँदै

नेपालगञ्ज : नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ ।  

रामलिला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए । रामलिला सञ्चालक समितिद्धारा आयोजित महोत्सवको आज शनिबार दिउँसो शुरु हुनेछ ।  

साँझ रावणको बधपछि राती १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्राबनको राधारमण मण्डलबाट २५ जना कलाकारको समुहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ । 

भोली आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरु आउने गर्दछन । 

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलहरु समेत राखिएका छन । महोत्सवका सडकहरु झिलीमिली पारीएको छ, भने शान्ति सुरक्षा व्यवस्थाको बाताबरण सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।  

१५ दसक बढीदेखि आयोजना हुदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति बाण लगायत लिला प्रर्दशन गरिसकिएको समितिका सदस्य भरतकिशोर बैश्यले बताए ।

प्रतिक्रिया