Listen LIVE

स्रोत सहमति दिँदा पनि जब्दीघाट पुलको खुलेन ठेक्का

बर्दिया : अर्थ मन्त्रालयले जब्दीघाटमा पक्की पुल निर्माणका लागि स्रोत सहमति दिएको पाँच महिना बितिसक्दा पनि पुल निर्माणका लागि ठेक्का हुन सकेको छैन । गुलरिया नगरपालिका–४ र बारबर्दिया नगरपालिका–५ जोड्ने पक्की पुलको नाममा गत पुसको अन्तिम साता अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरे पनि पुल निर्माणका लागि ठेक्का हुन नसकेको हो ।

अर्थ मन्त्रालयले जब्दीघाटमा अर्को पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकमको स्रोत सुनिश्चितता गरेको थियो । जसमध्ये यस आर्थिक वर्षका लागि एक करोड रकम विनियोजन गरिएको छ । तर हालसम्म पुल निर्माणका लागि ठेक्का खुल्न सकेको छैन ।

जब्दीघाटमा पुल निर्माणका लागि स्रोत सहमति भएको खबर आउन साथ बर्दियावासीहरू निक्कै उत्साहित भएका थिए । बजेट आए पनि हालसम्म पुल निर्माण गर्ने स्थान नापजाँच गर्नसमेत सम्बन्धित निकाय नआउँदा चिन्तित बनेका छन् ।

‘‘अहिले सम्म कोही पनि पुल निर्माण गर्ने स्थान छनोट गर्न आएका छैनन्, कहिले हुन्छ पुल निर्माण ।,’’ बारबर्दिया नगरपालिका– ११ जब्दीकी रामकृष्णी थारूले बताइन् । उनले भनिन, ‘‘पुल बन्नका लागि बजेट आयो भनेपछि सबै नेताले मैले बजेट पारेको भने अहिले कहाँ छन् उनीहरू सबै चुपचाप छन् ।’’

पक्की पुल नहुँदा जब्दीघाट भएर आवतजावत गर्ने बर्दियावासीहरू मर्कामा परेका छन् । बारबर्दिया नगरपालिकालाई सोझै सदरमुकाम गुलरियासँग जोड्नका लागि पुल निर्माण हुनु आवश्यक छ । बारबर्दिया नगरपालिकाको कार्यालयदेखि सदरमुकाम गुलरिया पुग्नका लागि जम्मा १२ किलोमिटर सडक छ, तर पुल नहुँदा चारपाङ्ग्रे सवारी साधनलाई करिब ३० किलोमिटर दूरी पार गर्नुपर्दछ भने साइकल, मोटरसाइकल र पैदल यात्रीलाई शुल्क तिरेर डुङ्गाको जोखिम पूर्ण यात्रा गर्नुपर्दछ । केही समय अगाडिसम्म काठको पुलमा शुल्क तिरेर यात्रा गरिरहेका बारबर्दियावासीले नदीको बहाव बढेपछि डुङ्गाको यात्रा गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले हालसम्म विडिङ्ग डकुमेन्ट नबनिसकेकाले ठेक्का प्रक्रिया सुरु नभएको बताए । उनले स्रोत सहमति भएपछि तत्कालै इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट निर्माणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँमा पठाएको बताए । ‘‘डिजाइन एण्ड व्युल्ड मोडलमा ठेक्का लगाउनका लागि सुरुमा ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट बनाउनुपर्ने हुन्छ ।’’ उनले भने, ‘‘अझै एक महिना बाँकी छ डकुमेन्ट आएमा तत्कालै अगाडि बढाउँछौँ ।’’यस आर्थिक बर्षमा ठेक्का सुरु नगरेमा पुनः स्रोत सहमति लिने लगाएतका काम शून्यबाटै सुरु गर्नुपर्ने उनले बताए ।

पप्पु कन्ट्रक्शनले निर्माणको जिम्मा लिएर निर्माण निर्माण भई हस्तान्तरण नहुँदै वि.सं. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिए पनि जोखिम मोलेर साना सवारी साधन मानिसहरू यात्रा गरीरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पूर्णरुपमा बगाएपछि  स्थानीयवासीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया