Listen LIVE

बाँकेमा गैर–व्यावसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ

नेपालगञ्ज : बाँके जिल्लामा सञ्चालनमा रहेका स्पा, मसाज सेन्टर र कतिपय खाजा घरहरुमा समेत यौनजन्य अनैतिक गतिविधि बढ्दै गएको गुनासो सर्वसाधारणबाट उठ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीयको गुनासोलाई ध्यानमा राखेर नेपालगञ्ज र कोहलपुरमा रहेका स्पा, मसाज सेन्टर र खाजा घरहरुमा निगरानी बढाउँदै जाँदा केही ठाउँमा यौनजन्य अवैध गतिविधि भइरहेको पाइएको छ ।

सोही कारणले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालित स्पा, मसाज सेन्टर र खाजा घरमा प्रहरीले कडाइका साथ अनुगमन अभियान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले बताए । 

उनले सोही अभियानअन्तर्गत कोहलपुर र नेपालगञ्जका स्पा, मसाज सेन्टर र खाजाघरमा छापा मारेर प्रहरीले अवैध तथा गैर–व्यावसायिक क्रियाकलापमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको बताए । तीमध्ये ११ जना महिला तथा सात जना पुरुष रहेका थिए ।

सो घट्नाले केही स्पा, मसाज सेन्टर र खाजाघरमा अवैध कार्य भइरहेको पुष्टि गरेपछि निगरानी र कडाई थप बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

उनले केही दिनअघि मात्र प्रहरीले नेपालगञ्जका चार होटलमा छापा मारेर वेश्यावृत्तिमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएको जनाउँदै त्यसैको निरन्तरता स्वरुप नेपालगञ्ज र कोहलपुरका स्पा र खाजा घरमा छापा मारेको बताए ।

प्रहरीले जिल्लाका केही होटल र स्पा, मसाज सेन्टर तथा क्यासिनोमा समेत निगरानी बढाएको जनाउँदै प्रहरी प्रमुख जिसीले अवैध कार्य भएको वा भइरहेको पाइएमा कडा कारबाही गरिने बताए ।

नेपालगञ्जका विभिन्न स्थानमा खुलेका स्पा र मसाज सेन्टरमा भारतीय नागरिकहरु बढी आउने गरेका छन् भने क्यासिनो त भारतीय नागरिकलाई नै लक्षित गरेर सञ्चालनमा ल्याइएको बताइएको छ ।

जेनजी आन्दोलनपछि बाँके जिल्लाको प्रहरी नेतृत्व परिवर्तन भएपछि जिल्लामा प्रहरीले गैरकानुनी र अवैध कार्य रोक्न कडाइ बढाउँदै लगेको पाइएको स्थानीय वासिन्दाको भनाइ छ ।

प्रतिक्रिया