Listen LIVE

विपदबाट बचाउन नरैनापुरको चार ठाउँमा साइरन जडान

नेपालगञ्ज : मनसुन शुरु भएसँगै राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ ।

गाउँपालिका र एसडिएफको सहकार्यमा करिब रु. २८ लाखको लागतमा नरैनापुरमा साइरन जडान गरेपछि स्थानीय बासिन्दाहरूले विपदबाट बच्ने भन्दै खुसी भएका छन् । २०७१ सालमा आएको बाढीले राप्ती नदी किनारका कैयौँ स्थानीयलाई घरबार विहीन बनाएको थियो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । 

बाढीले सबैभन्दा बढी नरैनापुर गाउँपालिका–५ र ६ मा क्षति पुर्याएको थियो । पटक–पटक बाढी आउँदा लाखौँको धनमाल गुमाउन बाध्य नरैनापुरका बासिन्दा अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि ढुक्क भएका छन् ।  

एसडिएफका अध्यक्ष चम्पसिह थापा मगरले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको बताए । विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एसडिएफका एडभाइजर घनश्याम उपाध्यायले जानकारी दिए । 

नरैनापुर गाउँपालिकाका बिपद् शाखा प्रमुख एवम् सहायक प्रशासकीय अधिकृत भरत महतोले नरैनापुर वडा नं ५ को मटेहिया, वडा नं ६ को भगवानपुर, सोनबर्षा, गङ्गापुर मा साइरन जडान भएको बताए । स्वचालित उक्त यन्त्रले राप्ती नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने महतोले बताउनु भयो । साइरन नरैनापुरमा सुनिने गरी राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले राप्ती नदीको बाँध भत्काए नरैनापुरका हजारौँ घरधुरी प्रभावित हुने बताउँदै बाँध निर्माणका लागि सङ्घीय र प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनवाइ नगरिएको बताइन् ।

साइरन जडानपछि वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, बिपद् शाखा प्रमुख भरत महतो सहित रेन प्रयोजनकी सुमिता पौडेल, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले अनुगमन गरेका छन् । 

यस्तै पालिकाले वडा नं ५ र ६ मा सेल्टर हाउस निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएको छ ।

प्रतिक्रिया