Listen LIVE

मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

कैलाली : कैलालीको अत्तरिया बजारस्थित दुर्गा मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बुधबार बिहान अन्दाजी ३६–३८ वर्षका एक पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखासमेत फुटेको अवस्थामा शव भेटिएको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले टाउकोको बायाँ भागमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा ढुङ्गा नजिकै पुरुषको शव फेला परेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरभित्रै उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । शव मन्दिरको दक्षिण प्राङ्गणमा फेला परेको भए पनि रगतका धारा मन्दिरभित्र र आसपासका क्षेत्रसम्म फैलिएको थियो । 

मन्दिरका पुजारी टिकादत्त पनेरुले मन्दिरको ढोका बन्द गरेर राति घर फर्किएको बताए । स्थानीयवासीका अनुसार बुधबार बिहान साढे ६ बजे पतञ्जली योग समितिका एक सदस्यले शवको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घटनाका बारेमा प्रहरीले लापरबाही गरेको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन् ।

शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान नखुलेको समेत प्रहरीको भनाइ छ ।

प्रतिक्रिया