मुगु : यस वर्षको यार्चागुम्बा सङ्कलन सुरु भएको छ । जेठको १३ गतेबाट सुरु हुने यार्चाको समय असार महिनाको अन्त्यसम्मै रहने गरेको छ । यार्चा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो ।
जिल्लाको उत्तरी भेगको पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा मुगालीको संमृद्धिको प्रमुख आधार बन्दै गएको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । उनले भने, “यार्चागुम्बा सङ्कलन कार्यविधि अनुसार गाउँपालिकाको वडा नं. १ र २ मा रहेका रिर्माण, ठुलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा यार्चागुम्बा पाइन्छन् । जेठ १३ गतेका लागि यार्चागुम्बा सङ्कलन गर्न अनुमति लिन थालेका छन् ।”
यार्चागुम्बा सङ्कलन कार्यविधि अनुसार यार्चागुम्बा सङ्कलनका लागि जिल्लाभित्रका नागरिकलाई दुई हजार रुपैयाँ र जिल्लाभन्दा बाहिरका नागरिकलाई दुई हजार पाँच सय रुपैयाँ यार्चागुम्बा सङ्कलन तथा वन प्रवेश शुल्क रहेको गाउँपालिकाका अध्यक्ष लामाले बताए ।
जिल्लाको माथिल्लो मुगुको यार्चागुम्बा सङ्कलन क्षेत्रमा विगतका वर्षमा भएका घटनाबाट पाठ सिक्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकामा यार्चागुम्बा सङ्कलनको समय सुरु भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको उनको भनाइ छ । वन क्षेत्रमा यार्चागुम्बा सङ्कलनको अनुमति दिने वा नदिने अधिकार सम्बन्धित गाउँपालिकालाई नै रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
गाउँपालिकाको कार्यविधि अनुसार यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै लेक जान पाउने प्रावधान रहेको मुगुम कार्मारोङ गाउँपालिका–२ का स्थानीय कार्मा लामाले बताए । मुगुमा यार्चागुम्बा सङ्कलन गर्न छिमेकी जिल्ला जुम्ला, दैलेख, हुम्ला, जाजरकोट तथा कालीकोटबाट पनि सर्वसाधारण आउने गर्दछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार