Listen LIVE

खजुरामा टिनको छानारहित विद्यालय अभियान

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले ‘टिनको छानारहित विद्यालय’ निर्माण अभियानलाई तीव्र बनाएको छ। यस वर्ष थप तीन विद्यालयमा पक्की भवन निर्माण सुरु गरिएको छ। शिक्षा पूर्वाधारलाई दीगो र सुरक्षित बनाउने उद्देश्यसहित गाउँपालिकाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै दातृ निकायसँग सहकार्य गर्दै आएको छ।

खजुरा–२ गुराँसपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माणको शिलान्यास गर्दै गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले गुणस्तरीय शिक्षालाई गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको बताइन्। उनले गत वर्ष ६ विद्यालयमा पक्की भवन पूरा भइसकेको र यस वर्ष थप तीन विद्यालयमा निर्माण सुरु भएको जानकारी दिइन्।

उपाध्यक्ष मल्लले विद्यालय पूर्वाधार सुधार हुँदा पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। उनले विद्यालयको वातावरण, स्वच्छता, पहुँच र सिकाइ संस्कृतिमा पनि गाउँपालिकाले ध्यान दिएको बताउँदै अभिभावक र समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले गुणस्तरीय शिक्षाका लागि मजवुत पूर्वाधार आवश्यक रहेको बताए। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँसभाबाट पारित नीतिअनुसार १०६ दिनभित्र पक्की भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।

खजुरा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष धनिराम ओलीले सामुदायिक विद्यालयमा कक्षा कोठा अभावको समस्या अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालयसँग पर्याप्त जग्गा भए पनि भवन अभाव भएकाले निर्माण सुरु गरिएको उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोगी संस्था विल्ड अन नेपालका फिल्ड संयोजक महेश रानाले निर्माण सामग्री र कार्ययोजनाबारे जानकारी दिए।

नयाँ भवन निर्माणका लागि खजुरा गाउँपालिकाको १० लाख र विल्ड अन नेपालको ३५ लाख गरी कुल ४५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ। विल्ड अन नेपालले नगदभन्दा सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया