नेपालगञ्ज : हिन्दु र मुस्लिम सद्भावका लागि देशमै चिनिएको नेपालगञ्जमा बडादशैँको दिन मुस्लिम समुदायका अगुवाले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैँ मनाएका छन् ।
शनिबार हिन्दुको महान् पर्व बडादशैँका अवसरमा मुस्लिम अगुवाले धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैँ मनाएका हुन् ।
बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना हिन्दु मान्यजनबाट दशैँको टीका र जमरा लगाए ।
उनले दशैँ, इद, बकराईद, तिहार, रक्षाबन्धन, होली र मोहम्मद डे जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए ।
“हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दुको मात्र नभई हिन्दु समुदायले पनि हाम्रा चाडपर्वलाई यसै गरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ”, उनले भने ।
मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व इद, बकरइद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको जानकारी दिए ।
बाँकेमा हिन्दु र मुस्लिम समुदायले वर्षौँदेखि एक आपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएका छन् ।
यसै गरी, अर्का मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दशैँमा हिन्दु समुदायका आफन्त र मान्यजनबाट टीका लगाएका छन् । उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात् आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिए । सिद्धिकीले वर्षौँदेखि हिन्दु र मुस्लिम दुवै समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार