Listen LIVE

बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सम्पन्न

दाङ : दाङको घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु भएको खानेपानी आयोजनाको दुई वर्षको अवधिमा करिब ७४ प्रतिशत काम सकिएको हो । 

घोराहीको बढ्दो जनसंख्यालाई मध्यनजर गरेर खानेपानी समस्या दीर्घकालीन रूपमा समाधा गर्ने गरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बबई लिफ्टिङ आयोजना अघि बढाएको छ । खानेपानी आयोजनाअन्तर्गत ट्रान्समिसन पाइपलाइन विस्तारदेखि पानी सङ्कलनका लागि ट्याङ्की निर्माणलगायतका काम सकिएका छन् भने उपभोक्ताको घरसम्म पानी पु¥याउन पाइपलाइन विस्तार भइरहेको छ । 

भिमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीले ४९ करोड ८५ लाख ४९ हजार छ सय रुपियाँको लागतमा बबई लिफ्टिङ आयोजनाको काम गरिरहेको छ । बबई लिफ्टिङ खानेपानी योजनाअन्तर्गत हालसम्म घोराही उपमहानगरपालिका–७ शुक्रबारदेखि घोराही उपमहानगरपालिका–१४ झिँगौरासम्मको करिब २३ दशमलव दुई किलोमिटरमा चार सय एमएमको डिआई ट्रान्समिसन पाइपलाइन विच्छ्याउने र पानी सङ्कलनका लागि चार वटा ट्याङ्की निर्माणको काम सकिएको भिमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीका आयोजना व्यवस्थापक विष्णु कुमाईले जानकारी दिए । उहाँका अनुसार अहिले डिस्ट्रिव्युसनको २८ दशमलव छ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गरिने छ ।  

आयोजना अन्तर्गत अब झिगौरामा दुई सय घनमिटरको आरभिटी ट्याङ्कीसँगै ट्याङ्कीबाट उपभोक्ताको घरसम्म पानी पु¥याउन २७ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने छ । आयोजनका लागि शुक्रवारमा पानी ट्रिटमेन्ट प्लान्टसहित बालुवा छान्ने, ‘¥यापिड स्यान्ड फिल्टर, प्रेसर फिल्टर, ६ सय घनमिटरको पानी सङ्कलन गर्ने आरभिटी ट्याङ्की निर्माण गरिएको छ । 

यसैगरी घोराही–७ बेसाहीमा गार्ड बस्ने घरसहित तीन सय घनमिटरको पानी सङ्कलन गर्ने आरभिटी ट्याङ्की, घोराही–१४ झिँगौरामा तीन सय घनमिटरको आरभिटी ट्याङ्की र चार सय ५० घनमिटरको ओभरहेड ट्याङ्की, पाँच वटा डिपबोरिङ खन्ने काम सकिएको छ ।  

खानेपानीको आयोजनाको निर्माणको काम ठेक्का सम्झौता अनुसार दु्रत गतिमा भइरहेको भन्दै निर्माणको क्रममा बजेट अभाव नभए आउने वैशाख–जेठ महिनासम्म घोराहीमा पानी ल्याउने तयारी रहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठ बताउँछन् । 

घोराहीमा हरेक दिन प्रतिसेकेण्ड एक सय ३० देखि ३५ लिटर अर्थात करिब एक करोड लिटर पानी उत्पादन गरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य संस्थाको रहेको छ । नेपाल सरकारको सहलगानीमा निर्माण भइरहेको आयोजना पुरा भएपछि करिब ३० वर्षसम्म दैनिक २४ सै घण्टा पानी उपभोक्ता माझ पु¥याउन सकिने संस्थाका अध्यक्ष देवीबहादुर डिसी बताउँछन् । 

अहिले घोराहीमा खानेपानी समस्या नभएपनि पछि आउन सक्ने समस्यालाई मध्यनजर गरेर आयोजनाको काम भइरहेको भन्दै अध्यक्ष डिसीले भने, ‘योजना सञ्चालनमा आएपछि घोराहीमा नयाँ १०–१२ हजार बढी घरधुरी थपिँदासम्म समेत खानेपानीको समस्या हुने छैन ।’ घोराही खानेपानी संस्थाका अहिले आठ हजार बढी ग्राहक रहेका छन् । आयोजनाअन्तर्गत घोराहीका वडा नं. १४, १५, १६ र १७ मा पानी वितरण गर्ने तयारी रहेको छ । २०८२ असार ३० गतेभित्र काम सक्ने गरि ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया