यदुराज मिश्र/नेपालगञ्ज : बाँकेमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । बाँकेको नेपालगञ्ज र डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको संघार गरेको स्मरणमा प्रतिकात्मकरूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ ।
विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यसका लागि नेपालगञ्जको रामलीला मैदानमा रावणको पुतला बनाइएको सनातनी संस्कृतिका जानकार विष्णु कुमालले बताए ।
नेपालगञ्जमा वर्षौं अगाडीदेखिनै यो उत्सव मनाउन थालिएको उनले जानकारी दिए । कुमालले भने, “विजयादशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर रावण आकृतिलाई तिरले ढालिन्छ ।” दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको संघार गरेको प्रतीकात्मक रहेझैँ रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ ।
सत्ययुगमा देवीले दैत्य संघार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन संघार गरेको विश्वासमा बाँकेमा पनि रावण वध उत्सवको परम्परा चलेको संस्कृतिविदका जानकारहरु बताउँछन् । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण)माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नामले प्रसिद्धि पाएको हिन्दु लोकपरम्पराका ज्ञातासमेत रहेका कुमालले बताए ।
बडादसैँ नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको उनको भनाइ छ । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको कुमालले जिकिर गरे । “हामी देवी उपासनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो”, उनले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार