नेपालगञ्ज : केही दिन अघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।
चराका त्यस्ता प्रजातिमा चखेवा लगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए । “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,” उनले भने । त्यस बाहेक तालतलैयाका क्षेत्रमा वनभोज स्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उनको भनाइ छ । खडखडे, सिलसिले हाँस लगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा २ सय ७६ चरा भेटिएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चरा विज्ञ जोशीसहितको टोलीले गरेको सर्वेक्षणमा ती चरा भेटिएको जानकारी दिए । उनले राप्ती नदीको आसपास क्षेत्र, स्थानीय वन, कान्ति ताल र सुतैया तालमा विभिन्न प्रजातिका चरा भेटिएका र उनीहरुको बासस्थान सुरक्षित रहेको पाइएको बताए । बर्सेनी हुने चराको सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार