महोत्तरी : विवाहपञ्चमी महोत्सवमा भाग लिन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरी विभिन्न पालिकामा स्वागत र बिदाइ गरिएको छ। सोमबार राति जिल्लाको मटिहानीमा विश्राम गरेका जन्ती मंगलबार बिहान मटिहानी हुँदै जलेश्वर तथा पिपरा हुँदै जनकपुर प्रस्थान गरेका छन्।
जन्तीलाई जलेश्वर नगरपालिकामा नगरप्रमुख सुरेश साह सोनारसहित सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी तथा घर घरबाट सडकमा आउनुभएका नगरबासीले फुल, माला तथा अविरले स्वागत गरेका थिए। स्वागतपश्चात जन्तीहरुलाई जलेश्वरनाथ महादेव मन्दिरको पुजामा सामेल गराइएको थियो।
जलेश्वरबाट स्वागत बिदाइसहित जन्तीहरु पिपरा पालिकामा पुगेपछि पालिकाका अध्यक्ष रामजानकी यादवको टोलीले स्वागतसहित दिवा भोजन खुवाएका थिए । जय श्रीरामको नाराका साथ जन्तीलाई स्वागत र भोजन पश्चात जन्ती जनकपुरलाई प्रस्थान गरिसकेको छ।
सोमबार राति मटिहानी आइपुगेको जन्तीलाई बाजागाजासहित सिमानाकाको छोटी भन्सारमा नै गएर स्वागत गरिएको थियो।
दर्जनौ गाडीको लावालस्कर तथा राम, भरत, लक्ष्मण, शत्रुधन बनेर अयोध्याबाट आएकालाई भगवान मानेर नै स्वागत गरिएको छ। जलेश्वर नगरपालिका वडा नं. ४ का बासिन्दा रामा महतोले यसक्षेत्रमा जन्तीलाई भगवानकै स्वरुप मानिएर स्वागत गरिएको बताउँदै मंगलगान र जन्तीलाई यसक्षेत्रमा स्वागत गरिए झै बाजागाजाले स्वागत गरिएको थियो।
जनकपुरमा हुने विवाहपञ्चमी समारोहमा भाग लिन हरेक पाँच–पाँच वर्षमा अयोध्याबाट जन्ती आउने परम्परा अनुरुप यसवर्ष पनि जन्ती आएको हो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार