Listen LIVE

मानव बेचबिखनका लागि नेपालगञ्ज नाका अतिजोखिम

नेपालगञ्ज : पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाको रुपमा रहेको नेपालगञ्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिन्छ ।

यो नाकाबाट जोखिमपूर्ण रुपमा भारत छिराउन वा छिर्न लागेका सयौँ महिला तथा युवतीहरूलाई हरेक वर्ष उद्धार गरेर घर फर्काउने गरिएको छ । मानव बेचबिखन बढ्न थालसँगै पछिल्लो समयमा मानव बेचबिखन विरुद्धका मुद्दाहरू पनि प्रहरीमा दर्ता हुने क्रम बढेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत तीन आर्थिक वर्षमा मानव बेचबिखन विरुद्धका ४७ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा मानव बेचबिखन विरुद्धका १७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा १३ र २०८०/८१ मा पनि १३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म चार वटा मुद्दा दर्ता भइसकेको र अनुसन्धान भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका मुद्दामध्ये १० वटा बाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको पनि एसपी कार्कीले बताए ।

माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ । यसैगरी भारतका विभिन्न ठाउँबाट नौ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।

माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिसहरू मानव बेचबिखनमा परिरहेका छन्। जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा परेको उनले बताए ।

अर्कोतिर पैसाका लागि जस्तोसुकै काम गर्ने महत्त्वाकाङ्क्षा र सामाजिक सञ्जालको दुरुपयोग कर्ताको निशानामा पर्दा पनि महिला बेचबिखनमा पर्ने गरेको पाइएको छ ।

प्रमुख कोइरालाले माइती नेपालले भारतमा बेचबिखनमा परेकालाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको बताउँदै पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदन आइरहेको बताए ।

प्रतिक्रिया