Listen LIVE

लागुऔषधको अखडा बन्दै बर्दिया कारागार

नेपालगञ्ज : कारागारलाई सामान्यतया कैद खानाका रुपमा बुझिन्छ । कारागार कैदी–बन्दीहरुको आश्रयस्थल मात्र नभई सुधार गृह पनि हो । कारागारको बसाई हरेक कोणबाट सुरक्षित रहने र सुध्रीएर समाजमा पुनस्थापित हुने अन्तिम अवसर पनि हो । तथापी हामी कहाँ कारागार झनै नर्कमय बन्दै गइरहेका छन् । यस्तै कोटीमा पर्दछ– कारागार कार्यालय बर्दिया ।

सदरमुकाम गुलरियास्थित जिल्ला कारागार लागुऔषध कारोबार र प्रयोगको अखडा बन्दै गएको छ । एक हप्ता अघि मात्रै कारागार भित्रकै नामुद कैदी गाजा ओसार पसार गरिरहेकै अवस्थामा पक्राउ परे तथापी घटना अझै सम्म गुप चुप राखिएको छ । ओसार पसारमा संलग्न तिनको नाम र थप विवरण पनि गोप्य नै राखियो । घटनाबारे कारागार प्रशासनलाई जिज्ञाशा राखिँदा आन्तरिक अनुसन्धान हुदैछ थप भन्न मिल्दैन भन्ने जवाफ आयो । 

यी र यस्तै प्रकारका घटनाहरु विगतदेखि हुँदै आइरहेका छन् । कारागारभित्र हुने लागुऔषधको अवैध ओसारपसार र प्रयोगले गम्भीर चुनौती खडा गरेको छ भने अनेकन प्रश्न पनि उब्जाइदिएको छ । आगन्तुकमार्फत कैदीहरूको संलग्नतामा कारागारभित्रै लागुऔषधको कारोबार हने गरेको पाइएको छ । कैदी स्वयंले लागु औषध सेवन गर्नु र प्रहरी प्रशासन मुकदर्शक भएर हेरि रहनु झनै शंका र चिन्ताको विषय बनेको छ । 

कारागार प्रशासनका अनुसार एक सय २५ जना क्षमताको कारागारमा चार सय २२ कैदी कोचीएर बस्न बाध्य छन् । एक नाबालक र ५० महिला छन् भने बाँकी तीन सय ७१ पुरुष छन् । पुरुष कैदीमध्ये आधा जसो अर्थात ५० प्रतिशत लागु औषधको चंगुलमा फसेको डर लाग्दो तथ्य छ । ब्राउन सुगर, गाँजाजस्ता लागुऔषध कारागारसम्म सजीलै पुग्ने गरेको छ । पीटीगामा, सीटीजेड, डि कोल्ड लगायतका टयाबलेटलाई औषधीकै रुपमा कारागार भित्रयाउने र त्यो मिसाएर खुराक (लागू औषध) बनाई प्रयोग गर्ने गरेको कारागारबाट मक्त भएका भुक्तभोगीहरुले बताएका छन् । 

औषधी र तरकारीका पोकामार्फत यस्ता लागु औषध सजीलै भित्र पठाइन्छ । सामान्य मुल्यमा पाइने ति औषधी लागुऔषधको खुराक(एकडोज)मा रुपान्तरण भइसकेपछि महंगो मुल्यमा  बिक्रि हुन्छ । श्रोतका अनुसार बाहिर एक प्याकेटको दुई सय पर्ने ब्राउनसुगर (प्याकेट) कारागार भित्र एक हजार पर्ने गर्दछ । गाँजा मिश्रित एक खिल्ली चुरोटको पाँच सय पर्दछ । एक क्वार्टर दारु त्यहाँ एक हजार पर्दछ । स्रोतका अनुसार, सीमावर्ती बहराइचबाट सजिलै लागुऔषध कारागारसम्म पुग्ने गरेको छ । 

लागु औषध मुद्दामा रहेका कैैदी आकाश शाह, सोहन ढकाल(कर्तव्य ज्यान), नगेन्द्र रसाइली(कर्तव्य ज्यान), नरेन्द्र शाही(जजक) टंक गुरुङ (लागु औषध), निपेन्द्र बम(कर्तव्य ज्यान), नबिन चन्द(जजक), तुल बहादुर सुनार (कर्तव्य ज्यान), शंकर कुमार बिक (लागू औषध), अखिलेश यादव (लागू औषध) लगायत मुख्य लागु औषध प्रयोगकर्ता र कारोवारी गर्ने व्यक्ति हुन्  । गाँजा, ब्राउन सुगर, दारु, चुरोट, गुटखा आदि बाहिरबाट भित्रयाउने मुख्य नाइकेको रुपमा नगेन्द्रलाई लिइन्छ । स्वास्थ्य युनिटकै रोहबरमा औषधीका रुपमा अलग अलग भित्रिने औषधीलाई भित्र मिसाएर खुराक बनाउने कार्यको अगुवाई कृष्ण रसाइलीले गर्ने गरेको बताइन्छ । 

लागु औषधका अम्मली भइसकेकाहरुले घरबाट पैंसा मगाएर भएपनि सेवन गर्ने गर्दछन् । कैदीहरु सुध्रीने भन्दा पनि बिग्रीने सम्भावना बढेको छ । अभिभावकको आक्रोश छ । यसरी लागु औषध सहजै भित्र छिराएवापत त्यो समुहले जेलर, प्रहरी इन्चार्जलाई मासिक ५० हजारदेखि एक लाखसम्म बुझाउने गरेको पाइन्छ । 

कारागारमा लागुऔषधको कारोबार र प्रयोगले अनेकन जोखिम निम्तयाएको छ ।  लागु औषध प्रयोगकर्ता बाहेकका कैदीहरू असुरक्षित र डर त्रासमा छन् । लागुऔषधको लतले कैदीहरूको सुधार र सहज पुनस्र्थापनामा पनि बाधा पुगेको छ । कारागारभित्रको लागुऔषध सञ्जालले बाहिरी समुदायमा पनि तस्करीको जोखिम बढाएको छ । इच्छाशक्तिको कमी, सीमित स्रोत र कर्मचारीको अभावले पनि प्रभावकारी खानतलासी र निगरानी गरिएको पाइँदैन । 

हालै मात्र सरुवा भई आएका जेलर मान बहादुर सारुले लागु औषध कारोबार र प्रयोगबारे अनभिज्ञता प्रकट गरे । जेलर सारुले खाना, तरकारी लगायतका कारागार भित्र जाने सामानमा निगरानी भइरहेको स्पष्ट पारे । लागु औषध प्रयोगबारे भने उनले थप अध्ययन र कडाइ गर्ने आश्वासन दिए । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कारागार भित्र लागू औषध ओसारपसार घटनाबारे अनुसन्धान भइरहेकोे बाहेक अरु बताउन चाहेनन् । कारागार प्रशासनले लागु औषध कारोवारीलाई अन्यत्र सरुवा गर्ने, प्रयोगकर्तालाई अलग्गै राख्ने, खानतलासीलाई कडा बनाउने र सीसीटीभी जडान गर्नुपर्ने आवश्यकता देखिएको छ । यो समस्यालाई समाधान गर्न प्रहरी, कारागार प्रशासन र समुदायको संयुक्त प्रयास आवश्यक छ ।

प्रतिक्रिया