नेपालगञ्ज : नेवाः पुचः बाँकेको आयोजनामा आइतबार नेपालगञ्जमा गाईजात्रा (साः पारु) सम्पन्न गरिएको छ । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ सात परिवारले आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा सामूहिक गाईजात्रा निकालेका हुन् ।
गाईजात्रा सुरु गर्न सहभागीहरू सुर्खेत रोडस्थित स्वस्तिक कटेजमा भेला भएका थिए । त्यहाँबाट धम्बोझीचोक, सहिद सेतुविक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कसम्म परिक्रमा गर्दै गाईजात्रा सम्पन्न गरिएको थियो ।
उक्त अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गरेका थिए भने लाखे नाच पनि देखाइएको थियो ।
नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ । जनविश्वास अनुसार यसो गर्दा मृतकले गाईको पुच्छर समाई बैतरणी नदी पार गर्छन् ।
नेपालगञ्जमा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा गाईजात्रा निकालिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार