Listen LIVE

रोकिएन नेपालगञ्जमा बालश्रमिक राख्ने चलन

नेपालगञ्ज : नेपालञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज २ घरबारी टोलस्थित एक होटलले राखेको तीनजना बाल श्रमिकलाई यथासिघ्र परिवार मिलन गराई बालश्रम मुक्त गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले आज अनुगमनका क्रममा भेटिएका बाल श्रमिकहरुलाई उद्दा गरि परिवार मिलन गर्न निर्देशन दिएको हो ।

चालु आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत बालश्रम रोक्नको लागि निगरानी बढाइएको उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित पक्रियामा आउन अनुरोध गरीएको नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताइन् ।

अनुगमनमा नेपालगञ्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि ,वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो । टोलीले आज नेपालगञ्जको धम्बोजी र घरबारी टोलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २ वटा मिठाई पसलमा ३ जना बाल श्रमिक राखिएको पाइएको बालकल्याण अधिकारी पुरीले जानकारी दिइन् । जसमा १ जना भारतीय बालक रहेका छन ।

पुरीले नेपालगञ्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताइन् ।

अनुगमन टोलीले बालकको पारिवारिक पुर्नमिलन गरी विवरण ७ दिनमा वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । निर्देशन पालना नभएमा श्रम कार्यालयमा रोजगारदाता विरुद्ध श्रम कानुन, बालश्रम निषेधित तथा नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी पक्रियामा जाने स्थानीय होटल ञ्चालकलाई चेतावनी दिइएको थियो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगञ्ज उपमहानगरपालिकामा बालश्रमिकहरु होटल, मिठाई पसल, दोहोरीसाँझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा चालकको रुपमा, फर्निचर पसल र घरेलु कामदारको रुपमा प्रसस्त देखिने गरेको छ । रोजगारदाताहरुबाट बालश्रम निशेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलापको बिना रोकटोक नेपालगञ्जमा बालश्रमिक राखिने गरेको टोलीले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया