नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका–१६, जैसपुरका जावेद अहमदले माटाका भाँडा बनाउने परम्परागत पेसामा नयाँ प्रविधिको प्रयोग गरेर उदाहरणीय सफलता हासिल गरेका छन् । परम्परागत रूपमा हातले माटाका भाँडा बनाउने काम धेरै मिहिनेत र समय खर्चिलो हुने समस्या समाधान गर्न जावेदले मेसिनको सहारा लिएका छन् ।
जावेद अहमदका अनुसार माटाका भाँडा हातले बनाउँदा धेरै फुटेर खेर जाने तथा माग अनुसारको उत्पादन गर्न नसकिने समस्या थियो । उनले यस समस्यालाई चिर्दै आधुनिक प्रविधिको प्रयोग गरेर मात्र होइन, गुणस्तरीय उत्पादन पनि सुनिश्चित गरेका छन् । ‘मेसिनले समय बचत मात्र गर्दैन, कामलाई सहज पनि बनाउँछ । थकाइ लाग्ने कामलाई मेसिनले सरल बनाइदिन्छ ।’ यो परिवर्तनले उहाँलाई कम समयमै धेरै उत्पादन गर्न सक्षम बनाएको छ । जसका कारण उनले एक दिनमै २ हजारसम्म माटाका भाँडा उत्पादन गर्न सकिने उनले बताए ।
उनले बनाउने माटाका भाँडाहरूमा विभिन्न प्रकारका कुल्लढ र गिलासहरू मुख्य छन्, जसलाई चिया, लस्सी, र दही खान प्रयोग गरिन्छ । यी भाँडाहरू दाङ, कोहलपुर, र नेपालगञ्जका विभिन्न स्थानहरूमा होलसेलमा बिक्री भइरहेको छ । जावेदको व्यवसायले नेपालगञ्जको स्थानीय बजारमा नयाँ सम्भावना र अवसरको ढोका खोलिदिएको छ । माटाका भाँडाहरूको माग बढ्दै गएकोले उनीहरूको उत्पादन र व्यापार दुबैमा वृद्धि भएको छ ।
जावेदको व्यवसायमा माटोको शुद्धता र गुणस्तरमा ध्यान दिइन्छ । यसका साथै, मेसिनबाट विद्युत्को सहायताले चल्ने मेसिनले भाँडा बनाउन लाग्ने समय पनि निकै घटाएको छ । पहिले तीन दिन लाग्ने काम अब एक दिनमै सकिन्छ । मेसिनको प्रयोगले उत्पादनमा मात्र होइन, कामदारहरूको थकान कम गर्ने र कामलाई अझै प्रभावकारी बनाउने अवसर पनि दिएको छ ।
नेपालगञ्ज क्षेत्रमा कुमाल समुदायको बसोबास रहेको छ, जसले परम्परागत शैलीमा माटाका भाँडाहरूको निर्माण गर्दै आएका छन् । यो समुदायको जीविकोपार्जन माटाका भाँडाहरूको उत्पादन र व्यापारमा आधारित छ । तर, परम्परागत शैलीमा उत्पादन गर्दा धेरै समय लाग्ने र परिश्रमको कारणले उनीहरूको जीवनस्तरमा विशेष परिवर्तन आउन सकेको छैन । यद्यपि, जावेद अहमदजस्ता उद्यमीहरूले नयाँ प्रविधिको प्रयोग गरेर माटाका भाँडाहरूको उत्पादनमा सुधार गरेका छन्, जसले कुमाल समुदायका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।
स्थानीय सरकारले यस प्रकारको प्रविधि भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ, जसले कुमाल समुदायको जीवनस्तर उकास्न र माटाका भाँडाहरूको उत्पादनलाई अझ व्यापक बनाउन मद्दत पुर्याउन सक्छ । मेसिनको प्रयोगले माटोको परम्परागत उपयोगमा नयाँ आयाम थप्ने मात्र होइन, यो क्षेत्रका कारिगरहरूको आर्थिकस्तर पनि उकास्न सक्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार