Listen LIVE

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपालगञ्जमा विविध कार्यक्रम

नेपालगञ्ज : महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगञ्जमा एकजुट भएर ११५औ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन । दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको र्याली विपि चोक, धम्बोजि चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक हुदै पुनः नेपालगञ्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

आयोजक मूल समारोह समिति एवं नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्ज उपमहानगरपालिकाका संयोजक केशव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाँचो रहेकोमा जोड दिएका थिए । उनिहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्णरुपमा लिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना भइरहेको हुँदा सबै सचेत दिदिवहिनीहरुले प्रभावकारी भुमिका निभाउनुपर्ने बताइन् । महिलाअधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउँदै उनले महिलाका नाममा निकासा हुने बजेटमा चासो दिन पनि आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले महिला अधिकारका बिषयमा प्रकाश पार्दै ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारिका अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामी दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । 

यस्ने नेपालगञ्ज उपमहानगरपालिका न्यायिक समितिकी सदस्य रुमिता श्रेष्ठ र नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगीता रेग्मीलगायतले बोलेका थिए । 

कार्यक्रममा उद्योगी, पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा महिला उद्यमि तर्फ आशा सार्की, लक्ष्मी बम र नानी माया पुरी रहेका छन् । यसैगरी क्रियाशिल पत्रकार महिला तर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित भएकी छन् भने सामाजिक अभियान्ता तर्फ शाहिदा बानो सम्मानित भएकी छन् । 

यस पटकको नारी दिवसको नारा “सबै महिला तथा बालिकाको लागि ःअधिकार, समानता र सशक्तीकरण”भन्ने रहेको छ ।

कार्यक्रममा स्वागत मन्तब्य नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले दिएकी थिइन् भने कार्यक्रम सञ्चालन अधिकारकर्मी निर्मला पौडलले गरेकी थिइन् । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेकोे थियो ।

दिवसको पुर्वसन्ध्यामा नेपालगञ्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए । जसअन्र्तगत नगरस्तरीय बालक्लव सन्जालका पदाधिकारीलाई ३ दिने स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । ग्रामिण क्षेत्रमा महिला पुरुष समविकास तालिम ३ दिने सञ्चालन र कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निशुल्क पाठेघरको क्यान्सर परीक्षण कार्यक्रम गरिएको नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख पवित्रा कुमारी पुरीले बताइन् ।

प्रतिक्रिया