Listen LIVE

हुस्सुका कारण नेपालगञ्जबाट हुने हवाई उडान प्रभावित

नेपालगञ्ज : बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा मंगलबार बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्ज ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले जानकारी दिएका छन् ।

उनका अनुसार हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा मंगलबार विमानस्थलमा उडान हुन नसकेको हो । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्ला, काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।

जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्छ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौँ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतीक्षामा विमानस्थलमा बसिरहेका छन् । निरन्तरको शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया