यदुराज मिश्र/नेपालगञ्ज : बाँकेसहित तराईका जिल्लाका मधेशी समुदायमा आज राखी पर्व मनाईंदै छ ।
चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबिच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मधेशी समुदायमा ‘राखी’ भनिन्छ । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले तराईका जिल्लामा केही दिन पहिलेदेखि नै राखीमय बनेको छ । पर्वले आज बिहानैदेखि चहलपहल निक्कै बढेको छ ।
मुख्यतयः साउन मध्ययता भइरहेको पछिल्लो बर्षातले पर्वमा हासीखुसी छाएको छ ।
राखी पर्वले केही दिन पहिलेदेखि नै बजारमा चहलपहल बढेको छ । जताततै रङ्गीचङ्गी ‘राखी’ सजाएर बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न केही दिन पहिलेदेखि नै यस्ता पसल अगाडि दिदीबहिनीहरुको जमघट देखिँदै आएको छ । राखीसँगै पर्वमा दाजुभाइलाई ख्वाउन मिष्ठान्न परिकारको जोहोमा छन् । यसले आज बिहानैदेखि मिठाई पसलमा भीडभाड देखिएको छ ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । तराईमा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरीहरु ब्यस्त देखिन्छन् । ससाना नानीहरूका लागि पर्वको तयारीमा घरका अभिभावकले सहयोग गर्दैछन् ।
तराईका सबै क्षेत्रमा दाजुभाइ–दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मधेशी समुदायमा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ ।
पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्ठान्न परिकार ख्वाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा चेलीलाइ दिने गर्दछन् । हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरूपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि तराईका जिल्लामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको मधेशी संस्कृतिका जानकार नेपालगञ्जका विष्णु कुमालको भनाइ छ ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ ।
त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको जनविश्वास छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार