नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाको पूर्वी सीमा नाकाबाट ५० ग्राम बढी ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र डुडुवास्थित बिओपी खडैंचाको संयुक्त टोलीले डुडुवा–१ चौफेरीबाट नेपालगञ्ज उपमहानगरपालिका–२१ का २२ वर्षीय अब्दुल करिम खान र सोही स्थानकै १८ वर्षीय बाबु बेहनालाई ५० ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
भारतको सीमावर्ती गाउँ हुँदै मोटरसाइकलमा लागुऔषध भित्रिँदै गरेको सूचना आए लगत्तै नेपालगन्जबाट गएको लागुऔषध नियन्त्रण ब्यूरोको टोली र बिओपी खडैंचाको टोलीले अब्दुल र करिमलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको ब्राउन सुगर बराबर गरेको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु सवार भारतीय नम्बर प्लेट युपी ४० डब्लु १९२२ रहेको मोटरसाइकल र एक थान मोबाइल समेत बरामद गरिएको छ । उनीहरुले उक्त ब्राउन सुगर भारतको बहराइच वा नानपाराबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।
बरामद गरिएको ब्राउन सुगर, मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार