Listen LIVE

कोहलपुर, राप्तीसोनारी र नेपालगञ्जमै व्यावसायिक पुष्पखेती

नेपालगञ्ज : केही वर्ष पहिलेसम्म तिहार र दीपावलीका लागि भारतबाट फूल आयात गर्नुपरेकोमा हाल आएर जिल्लामै पुष्प उत्पादनमा वृद्धि हुँदै गएपछि अहिले स्वदेशी फूलले बजार ओगटेको छ । 

बाँकेको कोहलपुर, राप्तीसोनारी र नेपालगञ्जमा व्यावसायिक रुपमै पुष्प खेती हुन थालेपछि तिहारका लागि प्रयाप्त फूल पाउन थालेको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर तीन र १३ मा व्यावसायिक रुपमै सयपत्री फूल उत्पादन गरेर दुई जना व्यवसायीले छुट्टाछुट्टै वार्षिक पाँचदेखि सात लाख रुपैयाँ आम्दानी गरिरहेको बताए । 

कोहलपुरकी पहिलो पुष्प खेती गर्ने महिला व्यवसायी विष्णु चौधरीले कोहलपुर तीनमा सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको बताइन् । नेपाली विषयमा डिग्री गरेकी चौधरीले आफूले फूल बिक्री गरेरै बार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको बताइन् । 

उनले गत वर्ष फूल धेरै बिक्री नहुँदा घाटा लागेको जनाउँदै यस वर्ष गत वर्षको घाटा पनि पूर्ति हुनेगरी बिक्री हुने आशा गरिएको बताइन् । केही वर्ष अघि कैलाली घुम्न गएको बेला त्यहाँ लगाईएको सयपत्री फूलको खेती हेरेर आफूले पनि सो खेती शुरु गरेको चौधरीको भनाइ छ । 

कोहलपुरकै अर्का पुष्प व्यवसायी कर्णबहादुर थापाले पनि आठ कठ्ठा जग्गामा लगाएको सयपत्री फूल वार्षिक करिब पाँच क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको बताए । कोहलपुर १३ का थापाले माध्यमिक तह उत्तीर्ण गरेका छन् । 

‘लकडाउनमा जनजीवन अस्तव्यस्त थियो, के गर्ने के गर्ने भन्ने सोचमा थिए, घरमा बसिरहेको बेला यूटुव हेर्दै गर्दा पुष्प खेतीको भिडियो आयो त्यसलाई हेरे जसले गर्दा पुष्प खेती गर्न जागरुक गरायो,’ थापाले भने । 

बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएकोले जङ्गली जनावरबाट पनि क्षति नहुने पुष्प खेती आम्दानीका लागि उपयूक्त हुने भएकोले सयपत्री फूलको खेती गर्न थालेको थापाको भनाइ छ । उनले थपे, ‘निरन्तर भारतमा गएर कमाउन जाने तीन जनालाई रोजगारी दिएको छु, अहिले वार्षिक करिब पाँचदेखि सात लाखसम्म आम्दानी हुन्छ ।’ 

गतवर्ष प्रचार प्रसारको अभावमा विक्री नभएर तीन क्विन्टल सयपत्री फूल खेर गएको थियो, जसले केही घाटा लाग्यो तर यो पटक भने केही राहत मिल्ने थापाको भनाइ छ । 

स्थानीय स्तरमा उत्पादन भएका प्राकृतिक फूलहरुलाई प्रवर्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पुष्प खेतीको स्टल निर्माण गरी विक्री वितरणमा सहयोग पुग्ने गरी योजना बनाएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया