नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । खजुरा गाउँपालिका वडा न–५ मा रहेको श्री भानु माविमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरूको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका विषयमा पालिका स्तरीय अनुगमन गरिएको छ ।
अध्यक्ष डम्मर विक ‘तुफान’ले भानु माबिका बालिकाहरूमा आएको परिवर्तनले निकै खुसी भएको बताउँदै भने, ‘बालिका शिक्षा कार्यक्रमले बालिकाहरूको ज्ञान, सीप र जीवन शैलीमा उल्लेख्य परिवर्तन आएको छ ।’
अध्यक्ष बिकले अहिलेका बालिकाहरू भोलीको नेतृत्वदायी भूमिकामा रहने भएकाले मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त विद्यालयका बालिकाहरूमा आएको परिवर्तनले अभिभावकहरूमा समेत छोरीलाई पढाउनु पर्छ भन्ने भावनाको बिकास हुँदै गएको जिकिर गरे । बालिका शिक्षा कार्यक्रमलाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा पालिकाले समेत आवश्यक योजना बनाइरहेको अध्यक्ष विकले उल्लेख गरे ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु परिवर्तन सम्बन्धी विषयमा बालिकाहरू स्पष्ट रहेको बताए । भानु माबिका शिक्षक बुद्धिराम महतोले मुस्लिम र मधेशी समुदायका बालिकामा आएको परिवर्तन उदाहरणीय रहेको बताउँदै उनले भने, ‘मैले यति सम्म परिवर्तन आएको होला भन्ने सोचेको थिएन अनुगमनको क्रममा बिद्यार्थीहरुले दिएको जवाफले उत्साहित भएको छु ।’
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालको समन्वयमा उक्त विद्यालयको पालिकाले अनुगमन गरेको थियो । अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका १३ ओटा सत्रहरूका बारेमा बालिकाहरूलाई अनुगमनकर्ताहरूले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, विद्यालयको संलग्नता लगायतको विषय रहेको थियो ।
अनुगमनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, बालिका शिक्षा कार्यक्रमका संयोजक हेमराज भट्ट,बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, रुम टु रिडका सिनियर अफिसर सुष्मा राई, बासका निवर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिति रहेको थियो । बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ विद्यालयहरूमा सञ्चालन हुँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार