Listen LIVE

राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सम्पन्न

नेपालगञ्ज : बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण कार्य ५० प्रतिशत पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ। सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले आगामी असारभित्र पुल तयार पार्ने लक्ष्य राखिएको जानकारी दिए।

एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो पक्की पुलको काम तीव्र गतिमा अघि बढेको जनाउँदै योजना कार्यालयका प्रमुख भण्डारीले बहुप्रतिक्षित यो पुलको निर्माणमा यस क्षेत्रका अधिकांश जनताको चासो रहेको बताए।

हाल निर्माण भइरहेको ११ मिटर चौडाइको दुई लेन पुल तयार भएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दाले दशकौँदेखि भोग्दै आएको आवागमन समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हालका साँघुरा पुलका कारण सवारीसाधनले पालो कुर्नुपरेर नदी पार गर्नुपर्ने बाध्यता स्थानीयको प्रमुख समस्या बनेको बताउँदै नयाँ संरचना निर्माणपछि सो समस्या हट्ने विश्वास व्यक्त गरे।

सोही प्रकारले राप्ती सोनारी–७ का वडा अध्यक्ष रामलखन थारुले पुल निर्माणको काम धमाधम भइरहेकोले अब चाँडै सहज यात्रा गर्न पाउने अवस्था बन्दै गएको बताए।

प्रतिक्रिया