Listen LIVE

‘साउन’मा सन्तानेश्वर महादेव मन्दिरमा श्रद्धालुको भीड

नरैनापुर (बाँके) : हरेक वर्षको साउन हिन्दु महिलाका लागि पवित्र महिना मानिन्छ । साउन महिनाको सोमबार विशेषगरी महिलाहरु ब्रत बसेर भगवान शिवको पुजाअर्चना गर्छन् । यस महिनालाई अर्को अर्थमा ‘हरियो साउन’ पनि भनिन्छ । महिलाहरु पहाडको चुचुरोमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा पुगेर पुजा गरिरहेका छन् । 

नेपालगञ्जदेखि पुर्वमा हुलाकी सडक हुँदै करिव २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ । सडकको यात्रापछि त्यहाँबाट करिव ६ किलोमिटर उत्तरतर्फ जंगलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्छ । त्यसपछि करिव दुई किलोमिटर पैदल उकालो(पहाड)चढेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुग्न सकिन्छ । चुरे पहाडको चुचुरोमा रहेको मन्दिर दर्शनसँगै प्राकृतिक मनोरमको दृश्यले यहाँ जो कोहीको मनलाई आनन्दित बनाउँछ । 

चुरे पहाडमा हाईकिङसँगै उक्त मन्दिरमा पुजाआजा गर्नेको अचेल बढी  भिड लाग्ने गरेको छ । ब्रतालु महिलाहरु आएर शिव भगवानको पुजा र भाकल गर्छन् । त्यसो त उक्त मन्दिरमा बाह्रै महिना भक्तजनको भिड नै हुन्छ । नेपालसहित भारतका विभिन्न स्थानबाट चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्नेहरु यहाँ आउँछन् । 

पछिल्लो समयमा यो ठाउँ निकै चर्चामा रहेको छ । मन्दिरमा वर्षेनी धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । शहरको ‘कोलाहल’ वातावरण भन्दा शान्त ठाउँ मन पराउनेहरुका लागि यो उपयुक्त स्थान मानिएको छ । त्यसैले यहाँ अन्य दिनको तुलनामा सार्वजनिक बिदाको दिन बढी भिडभाड हुन्छ । समय मिलाएर यहाँ नेपाल र भारतका विशिष्ट ब्यक्तिहरु समेत पुग्ने गर्छन् । 

छोटो समयमै मानिसको आर्कषण बढेकाले यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेको देखिन्छ । मन्दिरको संरक्षण बाबा योगानन्द गिरीले गरिरहेका छन् । मन्दिर नजिकै उनको आश्रम रहेको छ । आवश्यक पुर्वाधार नबन्दा आश्रमको अवस्था दयनीय देखिन्छ । पछिल्लो समयमा त्यहाँ स्थानीय र प्रदेश सरकारले पुर्वाधार थप्ने क्रम जारी छ ।

प्रदेश सरकारले केही दिनअघि मात्रै सोलार प्यानलमार्फत बत्तीको ब्यवस्था गरिदिएको छ । पुर्वाधार विकासका हिसाबले पछाडी परेपनि मन्दिरको महत्वका कारण यहाँ उल्लेख्य मात्रामा दर्शनार्थी आउने गरेको संरक्षक गिरी बताउँछन् । उनका अनुसार सन्तानेश्वर महादेव मन्दिरको महत्व बेग्लै रहेको छ । यहाँ सन्तान नभएकाहरुले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेको छ ।

सन्तानेश्वरमा ‘ओम आकार’ पहाडको चुचुरोमुनिबाट गंगा, जमुना र सरस्वती प्रवाहित भएको हुँदा विशेष महत्व र पुण्य भुमी रहेको गिरी बताउँछन् । ‘गंगा, जमुना र सरस्वती सन्तानेश्वरको पहाडको तलबाट तीन वटा गंगा प्रवाहित भएका छन्,’ गिरीले भने ‘पुर्व एक, पश्चिम एक र दक्षिण एक । यहाँ तीन वटै चिज प्रवाहित भएको हुनाले यो विशेष महत्वपूर्ण र पुण्य भूमी छ ।’ धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा मन्दिरसम्म सडकको सुविधा, खानेपानी र भक्तजनहरुलाई एक रातसम्म बसाल्न मिल्ने विश्रामस्थल लगायतका पुर्वाधार आवश्यक रहेको उनी बताउँछन् ।

चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्न पाउँदा यहाँ पुग्ने दर्शनार्थीहरु दंग पर्छन् । ‘हाईकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नका लागि यो ठाउँ एकदमै पवित्र छ,’ नेपालगञ्जबाट पुगेका दर्शनार्थी यमबहादुर खड्काले भने ‘पहाडको फेदसम्म पुग्नलाई बाटोको राम्रो सुविधा भयो भने माथि चुचुरोसम्म पैदल हिडेर जानलाई समस्या हुँदैन ।’ मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थी बताउँछन् ।

प्रतिक्रिया