Listen LIVE

बाघको मुखबाट बाँचेका थारू बाघ संरक्षणमा

बर्दिया : बाघको आक्रमणमा परेर पनि ज्यान जोगाएका बर्दियाका भदै थारू अहिले बाघ संरक्षणकै अभियानमा सक्रिय भएका छन् । 

विसं २०६० पुस २२ गते बर्दियाको मधुवन नगरपालिका–३ स्थित गौरी महिला सामुदायिक वनमा खरखडाइको निगरानी गर्न अध्यक्ष थारू सामुदायिक वनभित्र पस्दा बाघले आक्रमण गरेको थियो । घाँसे मैदानमा हिँडिरहेका बेला एक्कासि बाघले आक्रमण गरेपछि उनले बाघसँग घमासान लडाइँ लडेर बाँचेको स्मरण गरे । उनले भने, “बाँच्न त बाँचेँ तर आँखा भने गुमाएँ । काल नपुगेपछि बाघको मुखबाट पनि बाँचेर संसार हेर्न पाइएको छ ।”

बाघले झम्टिँदा थारूको बायाँ आँखा गुमेको छ । उनले भने, “बाघले मलाई झम्टियो । सँगै हिँडेका साथीहरू छाडेर भागे तर मैले ज्यान जोगाउन भिड्नैपर्ने थियो । बाघसँग भिडेँ तर एउटा आँखा भने गुम्यो ।”

आँखामा गहिरो चोट पुगेपछि उनले बाँकेको आँखा अस्पतालमा उपचार गरे । बाटोघाटोको सुविधा नभएको बेला उनलाई तत्कालै गोरु लडिया र ट्याक्टरको सहायताले नेपालगञ्ज पुर्याइएको थियो । यो घटनामा उनले निकै पीडा भोगे । उनले ती दिन सम्झिँदै भने, “नेपालगञ्ज गरिएको उपचारले पनि आँखामा लागेको घाउ राम्रो हुन सकेन । पछि काठमाडौँको टिचिङ अस्पतालमा गएर छातीको करङ झिकेर आँखाको भागमा शल्यक्रिया गरेर बाँच्न सफल भएँ ।” 

सामुदायिक वन नेपाल–भारत सिमा क्षेत्रको खाता कोरिडोर क्षेत्रमा पर्छ । यहाँबाट भारतको कर्तनिया वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा जनावरहरू सहजै आवतजावत गर्ने गर्छन् । 

बाघको आक्रमणबाट आँखा गुमाएका थारू अहिले पनि संरक्षणमा जुटेका छन् । उनी संरक्षण गर्नेका लागि प्रेरणास्रोतसमेत बनेका छन् । बर्दिया जिल्लामा यो अभियानको नेतृत्वकर्ता जस्तै बनेका छन् उनी । उनले भने, “मैले आँखा गुमाउँदा निकुञ्ज कार्यालयले राहत दिने व्यवस्था थिएन । अहिले सरकारले घाइते र मृतक सबैलाई उपचार र राहतको व्यवस्था गरेको छ, यो सकारात्मक हो ।”

बाघसँग लडेर आँखा गुमाए पनि उनी मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्न रातदिन संरक्षणमा जुटिरहेको मधुवन नगरपालिका–३ का स्थानीय शरद राईले बताए । थारूले गाउँ गाउँमा पुगेर अहिले पनि संरक्षणका कुरा गर्ने गरेको मधुवन नगरपालिका–३ का वडाध्यक्ष नारायण मल्लले बताए ।

प्रतिक्रिया