नेपालगञ्ज : नेपालगञ्जको रामलीला मैदानमा दसैँको अवसर पारेर रामलीला मञ्चन भइरहेको छ । भारत वृन्दावनबाट आएका कलाकारले रामलीला प्रदर्शन गरिरहेका छन् । नेपालगञ्ज र सो आसपासका क्षेत्रबाट हरेक दिन राति ठुलो सङ्ख्यामा रामलीला हेर्न आउने गरेका छन् ।
रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाका अनुसार रामलीला महोत्सवमा ठुलो सङ्ख्यामा नेपाल र भारतका समेत स्थानीय मध्यरातसम्म सहभागी हुने गरेका छन् । लीलामा धनुषयज्ञ, रावण वध, भरतमिलाप र रामको शुभ राज्याभिषेक जस्ता दृश्यको मञ्चन गरिन्छ ।
यस वर्षदेखि नेपाली कलाकारलाई समेत रामलीलामा सहभागी गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएकाले आगामी वर्षबाट झन् भव्य बनाइने बताए । प्रत्येक वर्ष दसैँकै अवसरमा रामलीला मञ्चन हुँदै आएको छ । नेपालगञ्जको सांस्कृतिक परम्परालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गरिँदै आएको रामलीला सञ्चालक समितिले जनाएको छ ।
१९२५ सालदेखि देखि नेपालगञ्जको कुरैशी टोलको मैदान, टन्डन राइस मिल हुँदै अहिले रामलीला मैदानमा रामलीला मञ्चन भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार