Listen LIVE

सीमावर्ती बजार धाउँदै बाँकेका दुर्व्यसनी र कारोबारी

यदुराज मिश्र/नेपालगञ्ज : सुरक्षा निकायले पछिल्लो पटक बाँकेमा लागुऔषध सेवनकर्ता तथा कारोबारी उपर निगरानी बढाउन थालेपछि उनिहरू भारतीय सीमा क्षेत्रका बजार तर्फ आकर्षित भएका छन् ।

भारतीय सीमावर्ती बजार रुपईडिहा, बाबागञ्ज र नानपारासम्म लागुऔषध सेवनकर्ता पुग्ने गरेका छन् । भारतीय बजारको औषधि पसलमा लागुऔषध निर्वाधरूपमा खरिद गर्न पाउने भएपछि बाँके, बर्दियालगायत छिमेकी जिल्लाका कारोबारी र दुव्र्यसनी त्यता धाउन थालेका हुन् । जिल्लाको विभिन्न स्थानमा लागुऔषधसहित पक्राउ परेका व्यक्ति उपर अनुसन्धान गर्दा उक्त कुरा खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बाँकेलगायत आसपासका जिल्लामा प्रहरीको सक्रियताले लागुऔषध बिक्री नियन्त्रण भएपनि भारतीय सीमावर्ती बजारमा भने यसको खरिद बिक्री खुल्लारुपमा हुने गरेको प्रहरी अधिकारीहरूनै बताउँछन् ।

दुव्र्यसनीमा फसेका युवा युवतीहरु स्कुटर, मोटरसाइकल वा अटोमा भारतीय बजार रुपईडिहा जान्छन् । लागुऔषध सेवन र खरिद गरी आफ्नो बाहनमा लुकाईछुपाई ल्याउने पनि गर्छन् । कतिपय पक्राउ पर्छन् भने कोही भित्र्याउन पनि सफल हुन्छन् । भित्र्याइएका प्रतिबन्धित औषधीजन्य पदार्थ जिल्लामा तीन गुणा बढी मूल्यमा बिक्री हुने एक दुव्र्यसनीले नाम सार्वजनिक नगर्न आग्रह गर्दै बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खुला सिमानाकाका कारण भारतीय बजार सहजरूपमा आउजाउ हुने तथा भारतमा औषधीजन्य लागुपदार्थ बिक्रीमा कडाई नभएका कारण पनि दुव्र्यसनी र कारोबारी भारतीय सीमाक्षेत्रका बजार तर्फ आकर्षित भएका हुन् । 

प्रतिक्रिया