नेपालगञ्ज : बडा दशैंको सुरुवातसँगै नेपालगञ्ज सहर दुर्गा मूर्तिले झकिझकाउ भएको छ ।
सहरका चोक–चोक तथा गल्ली–गल्लीमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म पूजाआजा गर्ने गरिन्छ । भजनकीर्तनले नेपालगञ्ज गुल्जार बनेको छ । रातभर भजन बजाइन्छ । घटस्थापनाको दिन चोक–चोक र गल्ली–गल्लीमा दुर्गा मूर्ति स्थापना गरिएका हुन् ।
एउटै टोलमा दुई–तीन वटा मूर्ति स्थापना गरिएको छ । दशैंको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको छ । दुर्गा मूर्तिमा घटस्थापनाका दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ ।
घटस्थापनाको दिन स्थापना गरिएका दुर्गा मूर्तिको आँखामा पट्टी बाँध्ने चलन छ । सप्तमीका दिन मात्र पट्टी खोल्ने गरिन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको कारण दिन मूर्तिको आँखा सोही दिन खोल्ने परम्परा छ । घटस्थापनाको दिन सजाइएका मूर्ति विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन राप्ती नदीमा लगेर विसर्जन गर्ने गरिन्छ ।
बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा पाँच सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको अनुमान छ । घटस्थापना सुरु हुनुअघि नेपालगञ्जमा मूर्तिकारलाई भ्याइनभ्याई हुने गरेको छ । सहरमा मूर्तिको माग बढ्दै गएकाले सीमित मूर्तिकारलाई भ्याइनभ्याई हुने गरेको छ ।
पहिले पहिले भारतबाट मूर्ति ल्याइन्थ्यो भने पछिल्लो समय यहीँ नै मूर्ति बनाइन्छ । तर, मूर्तिका लागि चाहिने सामान भने भारतबाटै ल्याउनुपर्ने बाध्यता छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार