नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका २ स्थित पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ।
महाशिवरात्रि पर्वका अवसरमा बागेश्वरी मन्दिरमा बुधबार बिहानै भारतका विभिन्न स्थान र नेपालको बाँके तथा बर्दियाबाट दर्शन र पूजाआजा गर्न आएका भक्तजनको भिड लागेको हो।
बागेश्वरी मन्दिरमा भारतबाट ठुलो सङ्ख्यामा महाशिवरात्री र अन्य पर्वहरूमा समेत भक्तजन पूजाआजाका लागि आउने गरेकोले भिड अत्यधिक रहेको बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगीले बताए। पूजाआजालाई व्यवस्थित बनाउन ठुलो सङ्ख्यामा स्वयमसेवकहरू परिचालन गरिएको उनले बताए।
बागेश्वरी मन्दिरको प्राङ्गणमै रहेको विश्वकै एकमात्र जुंगे महादेवको दर्शन गर्न सबैभन्दा बढी भारतीय र नेपाली श्रद्धालु यहाँ आउने गरेपनि यस वर्ष जुंगे महादेवको मन्दिर मर्मतका लागि हटाइएको मूर्ति अझै पनि स्थापना नगरिएकोले भक्तजनहरू निराश भएको नेपालगञ्जका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए।
उनले छिटै सो मूर्ति पुनः स्थापना गरिने तयारी भइरहेको जानकारी पाएको पनि बताए। शिवरात्रि पर्वको अवसर पारेर बागेश्वरी मन्दिरमा दिनभरी हजारौंको सङ्ख्यामा भक्तजनहरू आउने भएकोले सुरक्षाको विशेष प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले मन्दिरमा भिड धेरै भएकोले शान्ति सुरक्षा कायम गर्न र पाकेटमार लगायतबाट सुरक्षा प्रदान गर्न सादा पोशाका सुरक्षाकर्मीसहित अन्य सुरक्षाकर्मी परिचालन गरिएको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार