नेपालगञ्ज : पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा आज बड्का अट्वारी पर्व धुमधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।
हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । यो पर्व दुई दिनसम्म मनाइन्छ । द्वापर युगमा पाँच पाण्डव मध्येका माहिला भाई भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।
अर्को विश्वास अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।
अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । वर्त बसेका बर्तालुहरुले फलफूल लगायतका पकवान खानु पूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहित आफ्नी छोरी बहिनीको घरसम्म पुर्याइदिने प्रचलन छ । छोरीबहिनीका लागि छुट्ट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।
अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार