Listen LIVE

फातिमा फाउन्डेशनको कार्यालय नेपालगञ्जमा उदघाटन

नेपालगञ्ज : सामाजिक क्षेत्रमा सक्रिय फातिमा फाउन्डेशन नेपालले नेपालगञ्जमा आफ्नो कार्यालय भवनको उदघाटन गरेको छ । फाउन्डेशनले अब महिलाहरूको हकअधिकारका लागि अभियान चलाउने जनाएको छ ।

फाउन्डेशनको भवन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र रेडक्रसका केन्द्रीय महामन्त्री मीनबहादुर मल्लले संयुक्तरूपमा उदघाटन गरेका थिए ।

फाउन्डेशनकी अध्यक्ष मैमुना सिद्दिकीले संस्थापक स्वर्गीय मोहम्मदी सिद्दिकीले दुई दशकअघि देखेको सपना आज साकार भएको बताइन् । नेपाली कांग्रेसकी नेतृ तथा संविधानसभा सदस्यसमेत रहेकी मोहम्मदीले मुस्लिम समुदायका महिलाहरूको हकअधिकार स्थापित गर्न फाउन्डेशनमार्फत अभियान चलाएकी थिइन् । उनले सो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष सिद्दिकीले फाउन्डेशन एक गैरसरकारी संस्था मात्र नभई एक अभियान भएको पनि बताइन् ।

भवन उदघाटन कार्यक्रममा मेयर विष्ट, रेडक्रस महामन्त्री मल्ल, फाउन्डेशनका सल्लाहकार रविन्द्र कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, भेरी अस्पतालका अध्यक्ष बीरेन्द्र शाह, गैरसरकारी संस्था महासंघका सचिव नमस्कार शाह र इस्लामी संघ नेपाल लुम्बिनीका अध्यक्ष उबेदुर रहमान खान लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया