Listen LIVE

सडक अतिक्रमण हटाउन नरैनापुरले डोजर चलायो

नरैनापुर (बाँके) : सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले नरैनापुर गाउँपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ ।  

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले सूचना जारी गरेर सात दिनभित्रमा पालिकाभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिए पनि उक्त निर्देशनको अवज्ञा गरेको भन्दै डोजर चलाउन सुरु गरेको बताए । 

हुलाकी राजमार्ग र पालिका सहायक मार्गमा निर्माण गरिएका छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने, पशु चौपाया बाँध्ने, सडकका नाली अतिक्रमण गर्ने कार्यले सवारीसाधन आवागमनमा समस्या भई दुर्घटना हुने गरेको र वातावरणसमेत दूषित हुने भएकाले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत महतोले सूचना नै जारी गरेर हटाउन निर्देशन दिए पनि उक्त निर्देशन नमाने पछि बिहीबारदेखि हुलाकी राजमार्गमा पालिकाले डोजर चलाएको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।  

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले स्थानीय क्षेत्रमा हुने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राखेर अतिक्रमण हटाउन सुरु गरिएको बताए ।  

सूचनालाई अटेर गरी अतिक्रमण नहटाए पछि पालिकाले डोजर चलाएको बताउँदै अध्यक्ष शाहले अटेरी गर्नेहरूलाई प्रचलित कानुन अनुसार कारबाही गरिने जिकिर गरे ।

प्रतिक्रिया