नेपालगञ्ज : बाक्लो कुहिरोका कारण भिजिविलेटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेकोले हवाइ उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
शुक्रबार विहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५०० देखि ७०० मिटर मात्र भिजिविलेटी हुँदा विमानस्थल बन्द रहेकोले नेपालगञ्जबाट दिउँसोसम्म कुनै पनि उडान नभएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
हवाई उडानका लागि आवश्यक पर्ने भिजिविलेटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगञ्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलेटी हुनु पर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलेटी हुनुपर्नेमा शुक्रवार दिउँसो १२ बजेसम्म ७०० भन्दा बढी भिजिबिलेटी नभएकोले उडान शुरु गरिएका छैनन् ।
विमानस्थल बन्द रहेकोले यहाँबाट पहाडि जिल्लाका लागि विहान हुने सबै उडान रद्द गरिएक छन् भने काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । नेपालगञ्जका लागि विहान ८ बजे काठमाडौंबाट जहाज उड्ने नियमित तालिका भएपनि नेपालगञ्ज विमानस्थल बन्द रहेका कारण जहाज नउडेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनित विक्रम शाहले बताए । उनले नेपालगञ्ज विमानस्थल खुलेपछि मात्रै काठमाडौंबाट जहाज उडाइने जानकारी दिए ।
नेपालगञ्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दै आएको छ । सोही प्रकारले नेपालगञ्जबाट पहाडी जिल्लाहरुमा पनि विहान बढी उडान हुने गरेको थियो ।
नेपालगञ्ज विमानस्थलबाट हवाई उडान अवरुद्ध हुँदा काठमाडांै र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकेट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतिक्षामा विमानस्थलमा रोकिएका छन् । गत केही दिनयता आएर शित लहर र कुहिरोका कारण बिहान हुने उडानहरु प्रभावित हुँदै आएका थिए भने शुक्रवार दिउँसोसम्म पनि कुनै उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार