Listen LIVE

विपन्न परिवारलाई सहयोग गर्दै लिलबहादुर

नेपालगञ्ज : अमेरिका पुग्नु, सम्पत्ति कमाउनु र भविष्य सुनिश्चित बनाउने अधिकांश व्यक्तिको चाहना हुन्छ तर अमेरिका पुगेर र जन्मभूमिका लागि मरिमेट्ने मानिस बिरलै भेटिन्छन् । बाँकेको खजुरा गाउँपालिका–४ का लिलबहादुर थापा बिरलै भेटिने मानिसमध्ये एक हुन् ।  

सत्र वर्षअघि डिभी परेर ३३ वर्षको उमेरमा अमेरिका पुगेका थापाको कमाइको अधिकांश हिस्सा विपन्न समुदायका व्यक्तिको सहयोगमा खर्च हुने गरेको छ । अमेरिकामा कमाएको मध्ये करिब १० करोड रुपैयाँ उनले यसरी नै विपन्न समुदायका व्यक्तिलाई सहयोग गरेर खर्च गरेका छन् । 

थापा भन्छन, “मलाई यही समाजले हुर्कायो, बढायो, मेरो जेजति छ यही समाजको हो । समाजमा दुःख पाएका व्यक्तिलाई सहयोग गर्न पाउँदा मनैदेखि आनन्द आउने गरेको छ ।” थापाले गुल्मी, बागलुङ, सुर्खेत र बाँकेका सयौँ घरपरिवारमा सहयोग गरेका छन् । घर भत्किएका परिवारको नयाँ पक्की घर बनाइदिएका छन् । थापासँग मिलेर विपन्न घरपरिवारको सहयोग गर्दै आएका बाँकेका पत्रकार खगेन्द्र दाहाल विपन्न घरपरिवारले थापालाई भगवानका रूपमा सम्मान गर्ने गरेको बताउँछन् । दाहाल  भन्छन, “कमाइको अधिकांश हिस्सा गरिब दुःखीको सेवामा खर्च गर्नु आफैँमा महान् कार्य हो ।” 

नेपालमा विपन्न परिवारको सहयोग गर्दै आएका थापा अमेरिकामा एक दिनमा २० घण्टासम्म काम गर्ने गरेको बताउँछन् । आफ्नो सम्पर्कमा आएका अधिकांश विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्दै आएका थापा आफूले गर्ने सहयोग सकेसम्म अरूलाई थाहा नहोस् भन्ने सोच राख्छन् । थापा दुई महिनाको बिदा लिएर अमेरिकाबाट घर आएका छन् । उनलाई सयौँ स्थानीय बासिन्दाले नेपालगञ्ज विमानस्थल पुगेर बाजागाजासहित भव्य स्वागत गरेका छन् । साधारण रहनसहनका ५० वर्षीय अविवाहित थापाको दैनिकी विपन्न व्यक्तिको सहयोगमै बित्ने गरेको छ ।

प्रतिक्रिया