Listen LIVE

नेपालगञ्जमा घर नम्बरिङको काम गरिँदै

नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक घर नम्बरिङ्गको काम धमाधम भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका १ देखि पहिलो पटक  मेट्रिक प्रणालीको आधारमा घर नम्बरिङ्गको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रबक्ता तथा वडा  १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए । 

वडा अध्यक्ष रिजालले भने, ‘यसमा गुगल कोड समेत राखिएको हुन्छ, यसको प्रयोगबाट आफूले खोजेको स्थानमा पुग्न सहजता हुन्छ, अहिलेको सूचना प्रविधिको जमानामा यो अनिवार्यजस्तै छ ।’ वडा नम्बर १ मा १५ टोलमा दुई हजार बढी घरहरु रहेका छन् । उपमहानगरपालिकाका इञ्जिनियर चन्दनराज दाषले  मङ्सिरभित्र सम्पूर्ण घर नम्बरिङ्ग गरिसक्ने योजनाअनुसार प्रविधिक र अन्य कर्मचारी परिचालन गरिएको जानकारी दिए । 

टोलको नम्बर प्लेटमा टोलको नाम र सङ्ख्या उल्लेख छ । यो सङ्ख्या टोलको सुरु स्थानबाट मिटरअनुसार राखिने दासले बताए । गुगल कोड राखेमा आफू भएको स्थान पत्ता लाग्नेछ । घर नम्बरिङ्गसँगै उपमहानगरपालिकामा सफ्ट्वेयर राखिएको छ । जसबाट घरधनीको समेत विस्तृत विवरण पत्ता लाग्ने उपमहानगरपालिकाले जनाएको छ । घना सहरी क्षेत्र भएकाले एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनका लागि यो सहज हुने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया