Listen LIVE

नेपालगञ्जमा आधुनिक जामा मस्जिद उदघाटन

नेपालगञ्ज : नेपालगञ्ज–३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहितको जामा मस्जिद निर्माण गरिएको छ। दारुल उलुम फैजुन्नबी जामा मस्जिद सञ्चालक समितिका प्रवक्ता महमूद आलम खानका अनुसार करोडौं रुपैयाँ लागतमा निर्माण भएको मस्जिद धार्मिक प्रवचन र सामूहिक नमाजसहित उदघाटन गरिएको हो।

मस्जिदको आन्तरिक स्रोत र स्थानीय मुस्लिम समुदायको लगानीमा १० हजार वर्गफुट क्षेत्रमा निर्माण गरिएको छ। करिब दुई हजार जना सामूहिकरूपमा नमाज पढ्न सक्ने क्षमताको मस्जिद बनेपछि मुस्लिम समुदायलाई सहज हुने मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले बताए। साथै, उनले निर्माण कार्य अझै अपूरो रहेकाले थप सहयोगका लागि मुस्लिम समुदायसँग अपिल गरे।

नेकपा (एमाले) का केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले मस्जिद निर्माणले धार्मिक कार्यमा सहयोग पुग्ने बताए। प्रमुख धर्मगुरु मुफ्ती जाफर रजाले मुस्लिम समुदायमा शिक्षाको आवश्यकता औंल्याउँदै आपसी एकता कायम गर्न अपिल गरे।

वरिष्ठ सल्लाहकार सैयद रिहान मियाँले मुस्लिम समुदायले शिक्षा क्षेत्रमा बढी ध्यान दिनुपर्ने बताए। संघीय सरकारले मदरसा शिक्षालाई मान्यता नदिँदा मुस्लिम समुदाय पछाडि परेको उनको भनाइ छ। उनले महिला शिक्षाका लागि महिला क्याम्पस तथा धार्मिक शिक्षा सञ्चालनमा केन्द्रित हुन सुझाव दिए।

सहसचिव अब्दुल अजीज काजी अन्सारीले मस्जिद समितिले मुस्लिम समुदायको हक, हित र सशक्तीकरणका लागि भूमिका खेल्ने बताए। मस्जिद र मदरसासम्बन्धी गतिविधिमा कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा उनले जोड दिए।

मस्जिद उदघाटन कार्यक्रममा समितिका कोषाध्यक्ष मोहम्मद हुसेन हल्वाइ, मदरसा परिषद् लुम्बिनी प्रदेशका सदस्य सगिर खान, कानुनी सल्लाहकार जमालुद्दीन अन्सारी, जसपाका नेता अतहर हुसेन फारुकी, मुफ्ती कैफुलवरा खानलगायत मुस्लिम धर्मगुरु तथा समुदायका सदस्यहरूको उपस्थिति थियो।

प्रतिक्रिया