Listen LIVE

ब्रम्हा कुमारी नेपालगञ्जमा भाइटीका

नेपालगञ्ज : नेपालगञ्जस्थित ब्रम्हा कुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालयमा भाइटीका लगाइएको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नभएका र दिदीबहिनी भएका दाजुभाईहरु पनि भाइटीका लगाउन सहभागी भएका छन् ।

“हामीले हरेक वर्ष तिहारमा दिदीबहिनी नभएका दाजुभाइहरुका लागि भाइटीका लगाइदिने गर्दर्छौं, हाम्रो कार्यालयमा रहनुभएका दिदीबहिनीहरुले उहाँहरुलाई भाइटीका लगाइदिने गर्नुहुन्छ ।” ब्रम्हा कुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगञ्जका सचिव कृष्णबहादुर रानाभाट (कृष्ण भाइजी) ले भने, “दिदीबहिनी नभएका मात्र होइनन् भएका दाजुभाईहरु पनि यहाँ भाइटीका ग्रहण गर्न आउने गर्नुहुन्छ ।”

आज बिहानबाट सुरु भएको भाइटीकामा करिब पाँच सयजना दाजुभाइहरुले भाइटीका लगाएको कृष्ण भाइजीले जानकारी दिए ।

संविधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले नेपालगञ्जमा रहेको ब्रम्हा कुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालयमा यस वर्ष पहिलोपटक भाइटीका लगाएको जानकारी दिए । “ब्रम्हा कुमारी नेपालगञ्जमा आज मैले पहिलोपटक भाइटीका लगाएँ, कार्यालयकी इन्दीरा दिदीसँग टीका लगाएँ,” भारले भने, “मेरो आफ्नै सहोदर दिदीबहिनीहरु हुनुहुन्न, त्यहाँ पुगेर भाइटीका लगाउँदा मन आनन्दित भयो, अव हरेक साल भाइटीका लगाउने छु ।”

नेपालगञ्जका पुराना पत्रकार पूर्णलाल चुकेले पनि ब्रम्हा कुमारीका दिदीबहिनीहरुसँग भाइटीका लगाउने गरेको बताए । “मैले ब्रम्हा कुमारीका दिदीबहिनीहरुसँग भाइटीका लगाउन सुरु गरेको २५–३० वर्ष जति भयो, हरेक वर्षको तिहारमा भाइटीका लगाउन जान्छु,” चुकेले भने, “त्यहाँ कुनै जातीय भेदभाव हुँदैन, धनि गरिब छुट्याइँदैन, कुनैपनि किसिमको भेदभाव छैन, सबै दाजुभाईलाई ब्रम्हा कुमारीका दिदीबहिनीहरुले आफ्नै दाजुभाई सम्झेर भाइटीका लगाइदिने गर्नुहुन्छ ।”

ब्रम्हा कुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्रीय प्रमुख राजयोगिनी ब्रम्हा कुमारी दुर्गा दिदीले हरेक वर्षको तिहारमा भाइटीका लगाइदिँदै आएको बताइन् । “दिदीबहिनी भएका तथा नभएका, छुट्टीको समयमा पनि घरमा जान नपाउनुभएका राष्ट्रसेवक कर्मचारी, प्रहरी, सशस्त्र, नेपाली सेना लगायतका विभिन्न सेवामा रहनुभएका दाजुभाईहरुलाई हामीले भाइटीका लगाइदिने गरेका छौँ ।” दुर्गा दिदीले भनिन, “हरेक वर्गका दाजुभाईहरुलाई हामीले उत्तिकै सम्मानका साथ भाइटीका लगाइदिन्छौँ, दाजुभाईहरु खुसी हुनुहुन्छ, हामी पनि खुसी हुन्छौँ ।”

नेपालगञ्जस्थित ब्रम्हा कुमारीले हरेक वर्षको रक्षाबन्धन र तिहारको भाइटीकाका दिनमा आउने दाजुभाईहरुलाई रक्षाबन्धन बाँधिदिने र भाइटीका लगाइदिने गर्दै आएको छ ।

प्रतिक्रिया