Listen LIVE

प्रतिवन्धित औषधिसहित ३ जना प्रहरीको नियन्त्रणमा

दाङ : दाङको घोराहीबाट प्रहरीले ठुलो परिमाणको प्रतिवन्धित औषधिसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ४ सय ट्याब्लेट ट्रामाडोलसहित घोराही उपमहानगरपालिका–१२ हापुरबाट दुई जनालाई नियन्त्रणमा लिएपछि अर्का एक जनालाई पनि ठुलो परिमाणमा प्रतिवन्धित औषधिसहित नियन्त्रणमा लिइएको थियो ।

प्रतिवन्धित औषधि ट्रामाडोलसहित सुरुमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका–६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको टोलीले रा ७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट उक्त परिमाणकोट्रामाडोल फेला पारी पक्राउ गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

उनीहरु दुई जनालाई नियन्त्रणमा लिएर  थप अनुसन्धान गर्ने क्रममा घोराही उपमहानगरपालिका–९ घर भई सोही उपमहानगरपालिका–१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका–१५ नवज्योती टोलबाट खुम बहादुरलाई  १ हजार ४० ट्याब्लेट ट्रामाडोल  र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

उनले प्रयोग गरेको रा२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया