नेपालगञ्ज : भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपालगञ्ज नाकामा कडाइ गरिएको छ।
भारतबाट पाकिस्तानी नागरिक नेपाल छिर्न सक्ने सम्भावनालाई मध्यनजर गरी नेपालगञ्ज नाकामा सशस्त्र प्रहरीले परिचयपत्र लागु गरेको छ।
यसअघि भारतको रुपइडिहास्थित सीमा सशस्त्र बल (एसएसबी) ले परिचयपत्र अनिवार्य गरेकोमा बिहीबारदेखि सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगञ्ज नाकामा परिचयपत्र जाँच गर्न शुरु गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले सीमा नाकाको संवेदनशीलतालाई ध्यानमा राख्दै परिचय खुल्ने कागजात अनिवार्य गरिएको बताए । उनले सिमानाकामा सशस्त्र प्रहरीको जनशक्ति थप गरि गस्ती बढाइएको उल्लेख गरे ।
भारत र पाकिस्तानबिच द्वन्द्व बढेसँगै नेपाल आउने र जानेमाथि पनि भारतले कडाइ गरेको छ। परिचयपत्र भएकालाई मात्र भारत प्रवेश गर्न दिएको एसएसबीले हातहतियार तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको छ। ‘पहिलेको भन्दा पछिल्लो समय अझ धेरै कडाइ गरिएको भारतीय प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले भारत–पाकिस्तानबिचको द्वन्द्व चर्किँदै गएपछि नेपालतर्फ आउनेमाथि निगरानी बढाइएको बताए ।
भारत र पाकिस्तान बिच द्वन्द्व बढेपछि भारत छाड्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको बाँके प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार